भरतपुर, १ भदौ ।
राजधानी काबुल सहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिवानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ”२० वर्षको संघर्षपछि हामीले देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको” बताएका छन् ।
”यो पुरै देशका लागि गर्वको क्षण हो,” उनले भने ।
”अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” उनले थपे ।
”हामी विरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ । हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ ।”
शरिया कानुनका आधारमा महिला अधिकार
पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए ।
आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिए ।
”उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्ने छन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौँ कि भेदभाव गरिने छैन,” मुजाहिदले भने ।
तालिवानको राजनीतिक कार्यालयका अन्य वरिष्ठ नेताहरू सहित कान्दहार क्षेत्रमा मुल्लाह बरादर आइपुगेको बताइएको छ ।
निजी क्षेत्रका सञ्चारमाध्यम ‘निष्पक्ष र स्वतन्त्र’ हुन पाउने
तालिवानले आफ्नो सांस्कृतिक ढाँचा भित्र रहेर सञ्चारमाध्यम प्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ ।
पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ”निजी क्षेत्रका सञ्चार माध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउने छन् ।”
सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने जनाएको छ ।
”कसै प्रति बदलाको भाव देखाइने छैन,” मुजाहिदले भने ।
आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडुन् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदले बताए ।
कसले कसका लागि काम गरिरहेका छन् भन्ने कुरा सोध्न कसैको पनि ढोका नढकढकाइने उनले जानकारी दिए ।
(बिबिसीबाट)





