भरतपुर, १ भदौ ।
गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवर तेस्रो साता हुने १०औं महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक प्रवीण गुरुङले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणासँगै उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उम्मेदवारीको एजेन्डा हुने बताएका छन् । संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा आफू पुगेको उनले बताए ।
गुरुङको सामाजिक संलग्नता
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक गुरुङले भुकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९लगायत विभिन्न दैवीप्रकोपको बेला स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै स्थायी, अस्थायी बासस्थान, खाद्यान्नलगायत विभिन्न राहत सामग्री वितरण गरेका थिए ।
भुकम्पका कारण क्षतविक्षत भएको बुदसिंङलगायत गोरखा जिल्लाका विभिन्न क्षेत्रमा अस्थायी बासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्री आदि वितरण गरेको तथा गैरआवासीय नेपाली संघले शुरुवात गरेको लाप्राक बस्ती ५ सय ७३ भवनसहितको स्थायी बासस्थान निर्माणमा भूमिका निर्वाह गरे ।
बारा–पर्सा लगायतका जिल्लामा हावाहुरीले घरबार विहिन भएकालाई मध्यपूर्व र मलेशियाको संयूक्त नेतृत्वमा ३०० घरधुरीलाई अस्थायी बसोबास, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत अत्यावश्यक वस्तुहरुको व्यवस्था गरका थिए ।
बाढीपहिरोका कारण सिन्धुली लगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिलाई राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका केहि मनकारीहरुको सहयोगमा १५० भन्दा धेरै घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी बासस्थानको व्यवस्था गर्नेलगायतका मानवीय कार्यमा अग्रसरता देखाएका थिए ।
त्यसैगरी गुरुङ एनआरएनएको ईतिहासमा पहिलोपटक नेपालको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता हुने अवसर पाएका थिए ।
विभिन्न खेल, कला साहित्य तथा नेपाली संस्कार र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा प्रर्वद्धनमा प्रत्यक्ष सहभागी भएका थिए ।
अनपेक्षित रुपमा सिर्जना भएको कोभिड १९ को विषम परिस्थितिलाई समेत कुनै प्रबाह नगरी कोरोनाबाट प्रताडित भएका मध्यपूर्वका २० लाख नेपाली समुदायलाई मल्हमपट्टीस्वरुप त्यहाँको स्थानीय निकायसँग समन्वय गरी खाद्यान्न वितरणदेखि स्वेदश फिर्तीका लागि हवाई टिकट तथा रोजगार परिवर्तन एवं व्यवस्थापनमा समेत सक्रिय थिए ।
त्यतिमात्र नभई मध्यपूर्वमा वर्षौँदेखि अलपत्र नेपाली शवहरु, कोमामा रहेका वेवारिसे विरामीहरुलाई समेत स्वदेश फिर्ती एवं व्यवस्थापन गरी घरपरिवार तथा आफन्तहरुको पीडामा मल्हमपट्टी लगाउने काम गरे ।
कोभिड १९ को दोस्रो भेरिएण्टले नेपालमा एक्कासी महामारीको रुप लियो र अक्सिजन लगायत सामान्य स्वास्थ्य सामग्रीहरुको अभावमा हजारौंको संख्यामा नेपालीको अकालमा मृत्यूवरण भएका मध्यपूर्वका ५ सय ६० थान, ४० लिटर क्षमताका अक्सिजन ग्याँस सिलिण्डरलगायत विविध स्वास्थ्य सामग्रीहरु नेपालमा पठाएका थिए ।
नेपाली कला र संस्कृतिलाई संरक्षण, सम्बर्द्धन तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुमा नेपाली भेषभुषा, कलासंस्कृति हस्तान्तरण हुनपर्छ भन्ने संकल्प गरेका गुरुङले त्यसलाई मुर्तरुप दिन भ्वाईस अफ नेपाल, नेपाल आईडल, बुकीबुकी जस्ता नेपालकै ईतिहासमा पहिलोपटक शुरु भएका ‘रियालिटी शो’ हरुलाई मध्यपूर्वमा प्रत्यक्ष सञ्चालन गरे ।





