क्रिकइन्फो, २ भदौ ।
भारत र इंग्ल्याण्डबीचको पटौदी ट्रफी अन्तर्गतको दोस्रो टेष्ट म्याचमा भ्रमणकारी भारतीय टोली विजयी भएको छ । टेष्टको पाँचौँ दिन सोमबार १५१ रनको रोमाञ्चक जीत निकाल्दै उसले ५ म्याचको शृंखलामा १–० को अग्रता बनाएको थियो ।
लड्र्स मैदानमा इंग्ल्याण्डलाई टेष्ट जित्न दोस्रो पारीमा २७२ रनको लक्ष्य मिलेको थियो । तर भारतीय बलिङ आक्रमणका अगाडि उसका कुनै पनि ब्याट्सम्यानले जमेर खेल्न नसक्दा ऊ १२० रनमै अलआउट हुन पुग्यो । उसका प्रारम्भिक ब्याट्सम्यानहरू रोरी वन्र्स र डम सिब्ली खातै नखोली पेभिलियन फर्किए ।
कप्तान जोय रुटले ३३ रन बनाएको पारीमा विकेटकिपर जोश बट्लरको २५ रन पारीको दोस्रो सर्वाधिक व्यक्तिगत स्कोर बन्न पुग्यो । रुटले पहिलो पारीमा अविजित १८० रन जोडेका भएपनि दोस्रो पारीमा अलआउट हुनबाट भने टोलीलाई जोगाउन सकेनन् । अलराउण्डर सेम कुरन दुर्भाग्यशाली रहँदै टेष्टमा दोस्रो पटक शून्य रनमा आउट भए । पहिलो पारीमा पनि डक आउट हुन पुगेका थिए ।
बलिङतर्फ भने भारतका लागि तीव्र गतिका बलर मोहम्मद सिराजले घातक बलिङ गर्दै ४ विकेट लिए । उनका अलावा जस्प्रित बुम्राहाले ३, इशान्त शर्माले २ तथा मोहम्मद समीले १ विकेट लिन सफल रहे ।
यसअघि पाँचौँ दिनको खेल १८१ रनमा ४ विकेट गुमाएको स्थितिबाट थालेको भारतले समी र बुम्राहाको सुझबुझपूर्ण पारीको मद्दतमा दोस्रो पारी २९८–८ को स्कोरमा डिक्लेयर गरेको थियो । समीले ७० बलमा अविजित ५६ रन जोड्दा बुम्राहा ३४ रनमा नट आउट रहे ।
भारतको दोस्रो पारीमा आजिक्य राहाणेले ६१ तथा चेतेश्वर पुजाराले ४५ रनको पारी खेलेका थिए । इंग्ल्याण्डका लागि मार्क उडले ३, ओली रोबिन्सन र मोइन अलीले २–२ तथा सेम कुरानले १ विकेट लिए ।
टेष्टको आफ्नो पहिलो पारीमा भारतले ३६४ रन बनाएको थियो भने इंग्लिस टोलीले जवाफी ब्याटिङ गर्दै ३९१ रन फर्काएको थियो । भारतका लागि पहिलो पारीमा १२९ रन प्रहार गरेका लोकेश राहुल म्यान अफ दि म्याच घोषित भए ।
जीतसँगै भारतले वल्र्ड टेष्ट च्याम्पियनसिपमा १२ अंक प्राप्त गर्दै तालिकामा आफ्नो स्थानलाई सुधार गरेको छ ।
इंग्ल्याण्ड र भारत बीचको तेस्रो टेष्ट आगामी भदौ ९ गतेदेखि लिड्समा खेलिने कार्यतालिका रहेको छ ।





