भरतपुर, १ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार राति सम्पन्न शीर्ष नेताहरूको अनौपचारिक छलफलले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।
आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले बैठक आह्वान गरेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बिहान ११ बजे बस्ने उनले जानकारी दिए । संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तयारी रहेको उनको भनाइ छ ।
सरकारले संसद् अधिवेशन अन्त्य गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै ओलीले आफूनिकट नेताहरूसँग छलफल गरेका हुन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएमा माधवकुमार नेपाल पक्षलाई सहज हुने र एमाले फुट्न सक्ने आकलन ओली पक्षले गरेको छ । अध्यादेश आएमा एमाले विभाजन हुने निष्कर्षका साथ आवश्यक रणनीति बनाउन ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको उनीनिकट एक नेताले बताए ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार मंगलबारका बैठकमा माधवकुमार नेपालपक्षलाई पनि बोलाइएको छ ।
सोमबार अबेर राति वक्तव्य जारी गर्दै ओलीले एमालेका सबै नेतालाई आ–आफ्ना कमिटीका बैठकमा उपस्थित हुन अपिल जारी गरेका छन् । उनले एमाले फुटाउने षड्यन्त्र भएको भन्दै त्यसविरुद्ध एकजुट हुनसमेत अपिल गरेका छन् ।





