निषेधाज्ञाका कारण प्रहरीकहाँ दर्ता हुने मुद्दा घटे

भरतपुर, १ भदौ ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण प्रहरीकहाँ दर्ता हुने मुद्दा दर्तामा कमी आएको पाइएको छ । महामारी नियन्त्रणका लागि दुई वर्षमा दुई पटक लामो अवधिको निषेधाज्ञा गरिँदा आपराधिक घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

चितवन प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लाभर कूल १ हजार १७८ वटा मृद्दा दर्ता भएका थिए । उक्त संख्या आर्थिक वर्ष २०७६/७७ मा १ हजार २६३ पुगेको थियो । यस्तै आर्थिक वर्ष २०७७/७८ मा भने मुद्दा दर्ताको संख्या घटेर १ हजार ११४ पुगेको थियो । आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा मुद्दा दर्ताको संख्या ७.२१ प्रतिशतले बढेको थियो । जबकि २०७६/७७ को तुलनामा २०७७/७८ मा मुद्दा दर्ताको संख्यामा ११.७९ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष २०७६/७७ मा करिब ४ महिना देशव्यापी लकडाउन भएको थियो । यस्तै आ.व. २०७७/७८ मा पनि जिल्ला प्रशासन कार्यालयले करिब ५ महिना लामो निषेधाज्ञा जारी गरेको थियो । प्रशासन कार्यालयले २०७७/७८ को अन्त्यतिर जारी गरेको निषेधाज्ञाले अझै पनि निरन्तरता पाइरहेको छ ।

बन्दाबन्दी तथा निषेधाज्ञाका कारण मानिसले गर्ने क्रियाकलाप तथा गतिविधिमा कमी आएका कारण आपराधिक घटनामा पनि कमी आउन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनको भनाइ छ । “सामान्य समयमा भन्दा निषेधाज्ञाको अवधिमा मानिसको चहलपहल नहुँदा, आर्थिक गतिविधि तथा व्यापार व्यवसाय ठप्प हुँदा त्यससँग सम्बन्धित घटनाहरूमा पनि कमी आएको छ । चोरी तथा झैझगडा लगायतका घटना पनि केही कम भएका छन्”, प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले बताए । निषेधाज्ञाका समयमा सडक तथा राजमार्गमा सवारीसाधनको चाप घट्न पुग्दा सवारीसाधनको दुर्घटनाका घटनामा पनि कमी आएको उनले जानकारी दिए ।

निषेधाज्ञाले सार्वजनिक स्थानमा हुने आपराधिक घटनाहरूलाई टारेको भएपनि घरेलु हिंसा तथा आत्महत्याका घटना भने सो अवधिमा बढ्न पुगेको डीएसपी थापाले सुनाए । “निषेधाज्ञाका कारण मानिसहरूले जागिर गुमाउने अवस्थासम्म पुगे । आर्थिक गतिविधि बन्द भएपछि पैसादेखि अनेक खालका चिन्ताको सामना गर्नुपर्दा पनि आत्महत्या बढेको देखिएको छ”, प्रहरी प्रवक्ता थापाले थपे । प्रहरीको तथ्यांक हेर्दा पछिल्ला दुई आर्थिक वर्षमा आत्महत्यासम्बन्धी मृद्दा दर्ता हुने क्रम बढेको छ । प्रहरीका अनुसार चितवन जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा १६९, २०७६/७७ मा १७७ र २०७७/७८ मा २१७ वटा आत्महत्या दर्ता भएको छ । आ.व. २०७६/७७ को तुलनामा २०७७/७८ मा आत्महत्या दर्ता हुने दर २२.५९ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा फुटकर ज्यानको (मृत्युको कारण नखुलेको मुद्दा) घटना दर्ता संख्या १२२ रहेको पाइएको छ । यस्तै, सोही आर्थिक वर्षमा १२० वटा भवितव्य ज्यान, ६० वटा जबरजस्ती करणी र ९५ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । प्रहरीमा दर्ता भएका ती संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा धेरै हुन् । आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका सार्वजनिक हित विरुद्धको कसूर र बैंकिङ कसूरको संख्यामा पनि कमी आएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट