भरतपुर, ३१ साउन ।
विद्रोही संगठन तालिवानले सत्ता कब्जा गरेपछि समस्यामा परेका नेपालीलाई अफगानिस्तानबाट स्वदेश फर्काउन सरकारले मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको र अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने पहल सुरु भएको जनाएको हो ।
यसका लागि अफगानिस्तानमा रहेका नेपाली र उनीहरुका परिवारलाई विवरण उपलब्ध गराउन सरकारले आग्रह गरेको छ । साथै परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुको बारेमा तत्काल बुझ्ने काम, उनीहरुलाई सुरक्षित राख्ने र यसबारे आवश्यक जानकारी अपडेट गराउनका लागि दिल्लीमा रहेको नेपाली दुतावासलाई निर्देशन दिएको छ ।
साथै अफगानिस्तानमा नेपाली कामदार पठाउने म्यानपावर व्यवसायी र कम्पनीलाई उनीहरुको बारेमा विवरण उपलब्ध गराउन पनि सरकारले आग्रह गरेको छ ।
तालिवानले सत्ता कब्जा गरेसँगै राष्ट्रपति अशरफ घानीले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनी ताजकिस्तान पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । 





