भरतपुर, ३१ साउन ।
चितवनमा कोरोना संक्रमण रोकथामका लागि १० दिन निशेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार निशेधाज्ञासम्बन्धी आदेश जारी गर्दै भाद्र १० गते राति १२ बजेसम्म निशेधाज्ञा लम्बाउने जानकारी दिएको हो । पछिल्लो निषेधाज्ञा साउन ३२ गते सोमबार राति १२ बजे सकिदैछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा जारीआदेशमा भाद्र १ गते मंगलबारदेखि चितवनमा बढी भिडभाड हुने कार्यालयहरुबाट नियमित सेवा स्थगन हुने भएका छन् । जस अनुसार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक नियमित सेवा प्रवाह स्थगन हुने भएको हो ।
जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधनमा स्वास्थ्य मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।
खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी माछारमासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पूजा सामग्री पसल दैनिक बिहान १०: ०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल, पुस्तक तथा स्टेशनरी पसल, वर्कशप, निर्माण सामग्री लगायतका व्यापारिक पसल आइतबार, मंगलवार र विहिबार दिउसो १२:०० देखि साँझ ६: ०० बजे सम्म सञ्चालन गर्न पाइनेछ ।
खाजा घर, रेष्टुरेण्ट र मिठाई पसलहरु दिउसो १२:०० बजे देखि बेलुकी ६:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने उल्लेख छ। जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी बैंक तथा वित्तीय संस्था, सहकारी, विमा तथा रेमिट सेवा सञ्चालन गर्न पाइने तर वित्तीय तथा सहकारी संस्थाबाट घरदैलोमा गई रकम संकलन तथा समूह भेला सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।








