बीबीसी, ३१ श्रावण ।
हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । भूकम्पमा परी १ हजार ८०० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । शनिबार बिहान हाइटीको सेन्ट लुईस डू सुड शहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ ।
भूकम्पका कारण त्यहाँको पश्चिम क्षेत्रका धेरै संरचना, होटल तथा चर्चहरूमा क्षति भएको छ ।
ठूलो क्षति भएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले एक महिने संकटकालको घोषणा गरेका छन् ।
हाइटी सन् २०१० को भूकम्पबाट भर्खरै तंग्रिदै गरेको अवस्थामा पुनः अर्को ठूलो भूकम्प आएपछि त्यहाँको अवस्था झनै नाजुक बनेको बताइएको छ । त्यसबेला भूकम्पमा परी २ लाख मानिसले ज्यान गुमाएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले हाइटीलाई आफत्कालीन अमेरिकी सहयोगको स्वीकृति दिएका छन् ।





