प्रिय मौनता !
सिर्जना गरेकी हौ तिमीले मेरो एकान्तमा
एउटा सुमधुर संगीत
मैले पनि बनाएको हुँ तिम्रो सपनाको आकाश
एउटा खुल्ला धरहरा ……
समालोचक एवम् कवि डा. नेत्र एटमको सिर्जनामाथि समीक्षा गर्ने कुरा त्यति सजिलो होइन । कवि डा. नेत्र एटमको केही समयअघि प्रकाशित कविता सङ्ग्रह `प्रिय मौनता´ नवीन आयाम हो काव्यफाँटमा । मानिसभित्र हराउँदै गएको मानवता र सम्बन्धको औपचारिकतालाई कोमल भावमा व्यक्त गरिएको छ कवितामा । हार्दिकता र प्रेमपूर्ण स्नेहलाई भुलेर व्यावसायिक बन्दै गएको आजको मान्छे उभ्याइएको छ कवितामा । प्रकृति र मानिसका बिच रहेको अन्योन्याश्रित सम्बन्ध मानिसकै कारण कसरी भत्किँदै गएको छ भन्ने भाव कवितामा भेटिन्छ ।
यान्त्रिक बन्दै गएको मान्छे प्रकृति र पर्यावरणलाई लत्याएर भौतिक दुनियाँमा किन खुसी छैन भन्ने गहन विषयलाई कविले कविताको स्वर दिएका छन् ।
प्रकृतिमाथि दोहन गरेर असुरक्षित भविष्य बाँचेको मान्छे कसरी कङ्क्रिटको जङ्गलमा कृत्रिम जीवन बाँच्दै छ भन्ने प्रकृतिप्रेमी स्वर भेटिन्छ कवितामा ।
म धरती छिचोलेर उम्रिरहेँ
तिम्रै लागि,
म हाँगा- हाँगामा पुगेर छिमलिइरहेँ
तिम्रै लागि,
म आकाङ्क्षाहरूले डामिएर पुड्किइरहेँ
मात्र तिम्रो लागि,
तर मेरो समर्पणको गुँड भत्काएर तिमीले
प्रत्येक पटक
केवल उपहासको उपहार दिएका छौ ! …….
( मान्छे , पेज ३४ )
भौतिक वस्तुको प्राप्ति गरेर खुसी हुन खोजेको आजको मान्छे झनझन दुःखी हुँदै गएको मानवीय करुण चित्र देखाइएको छ कवितामा । प्रकृतिले मानिसको साथ नछोडेको तर मानिस आफ्नै भविष्य धरापमा पारेर प्रकृतिको शोषण र दोहनमा तल्लीन भएको मानिसको कुरूप र नग्न चित्र देखाएका छन् कविले ।
पर्यावरण जोगाएर मानव अस्तित्व सुरक्षित गर्नुपर्छ भन्ने कवि नेत्र एटम प्रकृतिप्रेमी कवि हुन् । प्रकृतिका पूजारी हुन् । आफ्नै महत्वाकाङ्क्षी चरित्रले धरापमा पर्दै गएको मानिसलाई प्रतिबिम्बित गरिएको छ कवितामा । प्रकृतिप्रति अगाध प्रेम दर्शाएका कविले समाजमा विद्यमान लैंगिक असमानताको विपक्षमा सशक्त आवाज उठाएका छन् । प्रकृतिलाई मानवीकरण गर्दै नारी सौन्दर्यसँग प्रकृतिलाई जोडेर गजबको विश्लेषण गरिएको छ ।
कवि नेत्र एटमले विश्वसाहित्यका चर्चित कविहरूलाई गहिरो अध्ययन गरेको महसुस हुन्छ उनका कविताभित्र पसेपछि । यिनले आफ्ना कवितामा अलग स्वर दिएका छन् । काव्यिक प्रयोग यिनको विशेषता हो । आफूले गहन अध्ययन गरेका केही कविहरूलाई आफ्नो सङ्ग्रहभित्र उभ्याएका छन् कविले । भूगोलको कुनै सीमा र परिधिभित्र कैद हुन नसक्ने कला र साहित्यको नवीन रुप आफ्नो काव्यकृतिमा प्रस्तुत गरेका छन् । ब्रिटिश कवि किट्सदेखि अमेरिकी कविहरु प्लाथ र ह्विटमन अनि अरबी कवि जिब्रान र जर्मन कवि गोथे हुँदै ल्याटिन अमेरिकी कवि नेरुदाका कृतिहरूको स्मरण मात्र गरेका छैनन् आफ्ना कवितामा केही कवितांशलाई पनि प्रवेश गराएका छन् ।
त्यस्तै प्रकृति र नारी जीवनको पीडालाई एकाकार गरेर देखाएका छन् कविले । ‘उन्यु’ कविता आम पीडित नारीहरूलाई प्रतिक बनाएर लेखिएको कविता हो । वनस्पती जगतमा उन्यु सीमान्तीकृत वनस्पति भए जस्तै पितृसत्तात्मक समाजमा नारीको अवस्था पनि त्यस्तै छ भन्ने भाव यो कवितामा पाइन्छ । अरु फुलेको र फलेको हेरेर रमाउने उन्युका भित्री पीडा बुझ्न नेत्र एटम जस्ता कविको कविहृदय चाहिन्छ । जो गहिराइमा पुगेर बुझ्छन् नेपाली समाजका महिलाको पीडा । अपहेलना र लाञ्छना के हो भन्ने कुरा कि त उन्युलाई थाहा छ कि त पिँधका महिलालाई । नेपाली समाजमा महिलाहरूको अवस्था उन्युभन्दा फरक छैन भन्ने यथार्थ व्यक्त गर्न कवि सफल भएका छन् । पुरुषवादी चिन्तनले किनारमा धकेलिएका नारीहरूलाई आत्मीय प्रेम दर्शाएका छन् कविले कवितामा ।
थाहा छ
फुल्दैनौ तिमी
जसरी फुल्छन् ढकमकाएर गुलाफ
स्याहारिएका बगैंचामा
वा
जसरी फुल्छन् मगमगाएर रजनीगन्धा
अँध्यारिएका रातमा ………..
पातमै बिउ उमार्ने तिम्रो कला
जराबाटै पुष्पित हुने तिम्रो सामर्थ्य
धर्तीतिर निहुरिएको तिम्रो समर्पण
र ओसमा फैलिएको स्वाभिमान
यी सबैलाई सिंगो जीवनजत्तिकै
प्रेम गर्छु म
तिम्रा झर्दै गरेका पातहरूलाई
तिम्रा पलाउँदै गरेका निगुराहरूलाई
तिम्रा जर्जर हुँदै गरेका जराहरूलाई
सम्पूर्णत: पृथक् तिमीलाई ….
आफैंभित्रको सौन्दर्य र क्षमता नदेखी अथाहा सम्भावनाको अन्त्य गरी चुपचाप बसिरहेका नारीप्रति लक्षित छ कविता । आफ्नै सुगन्धको पहिचान र महत्त्व थाहा नपाउने कस्तुरी बनेका छन् नारी ।
सबै खाले सम्भावनाका झ्यालढोका बन्द गरेर अँध्यारो बाँचिरहेका नारीहरूलाई उज्यालो हेर्न प्रेरित गर्ने अजस्र स्रोत पनि हो प्रस्तुत कविता । जहाँ अर्थपूर्ण जीवन बाँच्न प्रेरित गरिएको छ । प्रतिकात्मक रुपमा पुरुषवादी सत्ता र चिन्तनप्रति कटाक्ष गरिएको छ । नारीलाई कमजोर र पुरुषलाई बलियो बनाउने पुरातन चिन्तनप्रति कडा प्रहार गरिएको कविता पनि हो यो । प्राकृतिक बिम्ब हो उन्यु । समाजले उन्यु ठान्ने नारीले न त आफ्नो शक्ति र प्रतिभा बुझ्न खोजे न त समाजले त्यो अवसर दियो भन्ने गहिरो भाव भेटिन्छ यस कवितामा । यसरी समग्रमा कविताभित्र प्रकृति र नारीलाई एकाकार गरेर सिङ्गो मानवजातिको ऊर्जा र प्रेरणाको रुपमा प्रस्तुत गरिएको छ ।
नेपाली साहित्यको कविता विधामा नवीन तथा प्रयोगमूलक काव्यकृति हो प्रिय मौनता । यसको गहिराइमा पुगेर मात्र कविताको मर्म र ओज बुझ्न सकिन्छ । यसलाई एक पटक पढेर होइन पटकपटक पढेर मात्र गहिराइमा पुग्न सकिन्छ ।





