कवि गोविन्दराज विनोदीका तीन पुस्तक सार्वजनिक

भरतपुर, २८ साउन ।
कवि गोविन्दराज विनोदीका तीनवटा बालसाहित्यिक ग्रन्थ सार्वजनिक भएका छन् । `नानीका कविता´, `नानीका गजल´ र `सयपत्री रानी´ गरि बालसाहित्यका तीन पुस्तकको बिहीबार एक समारोहका बीच सार्वजनिक गरिएको हो ।

नारायणगढस्थित सम्पूर्ण किताबमा आयोजित लोकार्पण समारोहमा प्रमुख अतिथि बाल साहित्यका सर्जक कर्णबहादुर बानियाँसँगै विद्यार्थीहरू दीपिका नेपाल, प्रसंशा पराजुली, आशीर्वाद सापकोटा र मृणाल शर्माले यी कृतिहरूको विमोचन गरेका हुन् ।

विमोचन लगत्तै विद्यार्थीहरू दीपिका नेपाल, प्रसंशा पराजुली, मृणाल शर्मा, कृपा सुवेदी र आशीर्वाद सापकोटाले विमोचित कृतिहरूबाट एकएक रचनालाई गीति लयमा प्रस्तुत गरेका थिए ।

पुस्तकमाथि बोल्दै टिप्पणीकार रमेश प्रभातले बालबालिकाहरूका लागि यी कृति अत्यन्तै उपयोगी भएको बताए । बालबालिकालाई साहित्यमा रुचि जगाउन कवि विनोदीका कविता अब्बल भएको प्रभातले दावी गरे ।

अर्का समीक्षक कर्णबहादुर बानियाँले बालबालिकाको उमेर अनुसार उनीहरूले पढ्न सक्ने पुस्तक लेखिने हुनाले कवि बिनोदीले सबै उमेर समूहका बालबालिकाका लागि किताब लेखेको दाबी गरे । `कवि विनोदीले नियमितरूपमा सबै उमेर समूहका लागि कविता लेखिरहनु भएको छ´ बानियाँले भने- `यी तीन कृति ४ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकाका लागि अत्यन्तै उपयोगी छन् ।´ चित्र सहितका सिर्जनाले बालबालिकाको सिकाइमा सहयोग पुग्ने बानियाँले बताए । त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले बालसाहित्य सिर्जनामा कवि विनोदी मुलुककै सम्मानित स्रस्टा भएको दाबी गरे । कवि विनोदीले आफूले ५/६ वर्ष अगाडि नै सिर्जना गरेका रचनाहरूलाई पुस्तकको आकार दिइएको बताए । कोरोना भाइरससँग जोगिने उपायका केही सिर्जना पनि सङ्ग्रहमा समेटिएकोले यी सिर्जना बालबालिकालाई रमाइलो लाग्नसक्ने उनले बताए ।

यी तीन वटै पुस्तक सम्पूर्ण किताब नारायणगढले प्रकाशन गरेको हो । सबै पुस्तकको मूल्य १२५/- रुपैयाँ दरले राखिएको छ । कवि विनोदीको जन्मदिनको अवसर पारेर उहाँलाई जन्मदिनको कोसेलीस्वरुप किताब प्रकाशन गरिएको प्रकाशन संस्था सम्पूर्ण किताबका लेखराम सापकोटाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट