भरतपुर, २८ श्रावण ।
चितवनमा बिहीबार थप १६ हजार ११९ जनाले कोरोना भाइरस विरुद्धको दोस्रो मात्राको खोप लगाएका छन् । २०७७ फाल्गुन २३ देखि चैत्र ३ गतेसम्म पहिलो मात्राको खोपको रूपमा कोभिसिल्ड खोप लगाएकाले बिहीबार दोस्रो मात्राको खोप पाएका हुन् ।
सोसँगै हालसम्म जिल्लामा कोरोना भाइरस विरुद्धको पूर्ण मात्राको खोप लगाएकाको संख्या १ लाख १६ हजार ८२३ पुगेको छ । उनीहरूमध्ये २९ हजार २९१ जनाले कोभिसिल्ड तथा ५० हजार १५ जनाले भेरो सेल खोपको दुवै मात्रा लगाएका हुन् । ३७ हजार ५१७ जनाले भने एक मात्रा मात्र लगाए हुने जेन्सेन खोप लगाएका छन् ।
जिल्लामा हालसम्म १ लाख १९ हजार ८९६ जनाले कोभिसिल्ड तथा भेरो सेलको पहिलो मात्राको खोप लगाइसकेका छन् । तीमध्ये ३० हजार २ जनाले भेरो सेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ । यस्तै पहिलो मात्राको खोप लगाएकामध्ये १० हजार ५८८ जनाले कोभिसिल्ड खोपको दोस्रो मात्रा पर्खिरहेका छन् ।
पहिलो मात्राको कोभिसिल्ड खोप लगाएका नागरिकलाई दोस्रो मात्राको रूपमा उही फर्मुलाको अक्सफोर्ड एस्ट्राजेनेका खोप शुक्रबारसम्म दिइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । धेरै लक्षित समूह भएका ठाउँमा सो अभियान थप केही दिनसम्म चल्ने उसको भनाइ छ ।





