भरतपुर, २८ साउन ।
मध्यराती मोबाइलमा घण्टी बज्यो । फोनमा बोल्ने मान्छेले रुँदै भनिरहेका थिए, ‘लौ न हजुर, ए पोजिटिभ रगत चाहियो ।’
पहिलो लकडाउन अर्थात् २०७६ चैतको कुरा हो यो । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत बिरामीलाई रगत चाहियो भन्दै फोन आएपछि उनी जानलाई तयार भए । तर सवारीसाधन थिएन । उनले एम्बुलेन्स मगाए । अस्पताल पुगे । रक्तदान गरेपछि मध्यरातमा हिँड्दै कोठामा फर्के ।
यस्ता धेरै किस्सा छन् रगत व्यवस्थापनमा लागेका कृष्ण शर्मा ‘एकान्तप्रेमी’ का । कहिले रगत व्यवस्थापन त कहिले आफैले रक्तदान गर्ने उनी परेको बेला दिनरात भन्दैनन् । भरतपुर महानगरपालिका २३ जगतपुरका २५ वर्षीय शर्मा भरतपुर अस्पतालको प्रादेशिक रक्तसञ्चार केन्द्रमा तथ्यांक साहायकको रुपमा कार्यरत छन् ।
उनको काम फिल्डबाट संकलित रगतको रेकर्ड राख्ने हो । रक्तसंचार केन्द्रबाट कुन अस्पतालमा कति रगत गयो भन्ने तथ्यांकलाई चुस्त राख्नु हो । शर्माले रक्तसञ्चारमा काम गर्न थालेको ३ वर्ष भयो । तर ७ वर्ष यता उनले फरक भूमिकामा जिम्मेवारी निभाउँदै आएका छन् । कसैलाई रगतको आवश्यकता प¥यो भने उनको मोबाइलमा घण्टी बज्छ । उनी भन्छन्, ‘रगत चाहियो भन्दै कहिले रातको १२ बजे पनि फोन आउँछ । भएसम्म रक्तसञ्चारकै ब्लड बैंकबाट मिलाउने कोशिस गर्छु, नभए साथीभाइलाई फोन गर्न थाल्छु ।’
१८ वर्षको उमेरमा उनी कक्षा ११ मा पढ्थे । कलेजमा रक्तदान कार्यक्रम हुने भयो । त्यतिबेला उनलाई रक्तदानको महत्वबारे थाहै थिएन । शिक्षकहरुले रक्तदानको महत्व बुझाएपछि उनी रक्तदान गर्न राजी भए । त्यसपछि भने उनलाई रक्तदान र रगतबारे चासो बढ्न थाल्यो । आफैं खोजेर पनि अध्ययन गर्न थाले यसबारे ।
त्यसयता उनी निरन्तर रक्तदानका अभियान चलाउने, रगतको व्यवस्थापनको लागि सामाजिक सञ्जालमा लेख्ने गर्न थाले । ‘रगत फ्याक्ट्रीमा बन्दैन । हामीले रक्तदान ग¥यौँ भने अरुको ज्यान बाँच्ने हो भन्ने लागेपछि रगत व्यवस्थापनमा जुटेको हुँ’ शर्माले आफू यो कर्ममा लाग्नुको पृष्ठभूमि सुनाउँदै भने, ‘यो त जीवनदान पो रहेछ भन्ने लाग्यो । कतिबेला कसलाई के पर्छ थाहै हुँदैन । त्यसैले रक्तदान महत्वपूर्ण रहेछ भन्ने लाग्यो । रक्तदान गर्दा होस् वा रगत व्यवस्थापन गर्दा होस्, त्यतिबेला हुने खुशी भनैकै कसैको ज्यान बच्दैछ मेरो सहयोगले भन्ने हो ।’
अहिलेसम्म उनले २० पटक रक्तदान गरिसकेका छन् । उनले १५ सय देखि २ हजार जनालाई आफ्नो समन्वयमा रगत व्यवस्थापन गरिदिएका छन् । रगत चाहियो भनेर उनलाई फोन आउनेबित्तिकै मोबाइलको कन्ट्याक्ट लिस्ट र डायरीमा आँखा दौडाउँछन् उनी । जहाँ उनले हरेक साथीको फोन, नाम नम्बर ब्लड ग्रुप सहित सेभ गरेर राखेका छन् । डायरीमा पनि ।

‘नयाँ मानिससँग परिचय भएपछि मैले सोध्ने भनेको नै पहिला ब्लड ग्रुप हो’ उनी भन्छन्, ‘हरेक साथीको ब्लड ग्रुप डिटेल र रक्तदान गरेको मिति सम्भव भएसम्म टिपेर राख्छु । अर्जेन्ट पर्दा सजिलो र छिटो हुन्छ ।’
शर्मालाई थाहा छ, रक्तदान दिन योग्य मानिस पनि गलत बुझाइका कारणले रगत दिन हच्किन्छन् । तर उनी हार मान्दैनन्, सम्झाइबुझाई गर्छन् । उनले सुरुमा आफ्नै परिवारलाई बुझाएका थिए रक्तदानबारे अनि छरछिमेकमा । १८ वर्षभन्दा बढी उमेर र ४५ किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । रक्तदान गरेमा समस्यामा परेको व्यक्तिलाई त फाइदा हुन्छ नै, दान दिने व्यक्ति समेत यसबाट लाभान्वित हुने उनी बताउँछन् । ‘नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, अन्ननली तथा पेटको क्यान्सरको जोखिम कम हुन्छ भनी सन् २००८ मा गरिएको एक अध्ययनले देखाएको छ’ उनले भने ।
रगत व्यवस्थापनमा सामाजिक सञ्जालले व्यापक सहयोग गरेको उनी बताउँछन् । दारी ग्याङ, एमडब्लुआरआर, इमर्जेन्सी सहायता कक्ष लगायतका फेसबुक ग्रुपका सक्रिय सदस्य उनले तिनै ग्रुपमा पोस्ट गरेर पनि रगतको जोहो गरिदिन्छन् ।
लकडाउनमा कृष्णलगायतको चितवनका युवाहरुको समूहले इमरर्जेन्सी साहयता कक्ष स्थापना गरेरै निःशुल्क एम्बुलेन्स सेवा, अक्सिजन र रगत व्यवस्थापनको काम गरे । ‘लकडाउनमा रक्तदान कार्यक्रम न्यून हुँदा घरघरमै पुगेर रक्तसञ्चार केन्द्रबाट रगत लिन पुग्यौँ । पहिलो कोरोनाको चरणमा र दोस्रो लकडाउनमा पनि सहायता कक्षबाट रगत व्यवस्थापनको काम ग¥यौँ’ उनले भने ।
शर्मालाई रगत व्यवस्थापनमा लाग्दा मानवीय सेवा बाहेक आफूले गर्नुपर्ने जिम्मेवारी पनि हो जस्तो लाग्छ । उनको भविष्यको योजना एक घर एक रक्तदाता जन्माउने छ । उनी भन्छन्, ‘रगतको सहज व्यवस्थापन होस् भन्ने चाहना छ । त्यसको लागि एक घर एक रक्तदाता हुन अनिवार्य छ ।’
रक्तदानको महत्व
रक्तदानको समयमा ३५० देखि ४५० मिलिलिटर रगतमात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टाभित्रमा गरिसक्छ । रक्तदान पश्चात्त शरीरमा रगतको कोशिका तीव्र गतिमा बढ्न थाल्छ । शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ, जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ ।
एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ । १८ वर्षदेखि ६० वर्षसम्मका कुनै पनि स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्छन् । गम्भीर रोगबाट ग्रसित व्यक्तिले, स्तनपान गराउने महिलाले र महिनावारी भएका बेला भने रक्तदान गर्न मिल्दैन ।




