न्यायपालिकालाई दोष नदिन प्रधानन्यायाधीश जबराको आग्रह

ललितपुर, २७ साउन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क समेत गरेका छन् ।

नेपाल कानून व्यवसायी परिषद्ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए । उनले भने, “न्यायपालिकाले गर्ने सबै फैसलाहरू समाज र नागरिकसँग अभिप्रेरित हुन्छ र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनु पर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुँदैन । र महत्त्व पनि दिनु हुँदैन । यो आफै महत्त्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि मार्गनिर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरू राष्ट्रपतिदेखि सबै पर्दछन् । देशका सबै निकायहरू यसै अन्तर्गत पर्दछन् ।”

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दाबी समेत गरे ।

कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए । उनले कानूनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गरे ।

मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यक्तामा पनि जोड दिएका थिए ।

(इकान्तिपुर डट कमको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट