प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) देखि लिम्पियाधुरा, लिपुलेक, कालापानीसम्मका कुरा गरे । अर्को चुनावमा बहुमत ल्याएर आफू पुनः प्रधानमन्त्री बन्ने दाबी समेत गरे उनले । यी राजनीतिक कुराबाहेक एउटा महत्वपूर्ण प्रसंग उनले उठाए, त्यो थियो कोरोनाविरुद्धको खोप ।
अहिले जनताले पाइरहेका खोप सबै आफ्नो पालामा आफूले ल्याएको दाबी समेत गरे उनले । यो कथनमा केही वास्तविकता र केही फट्याइँ दुवै छन् । भारत, चीन र अमेरिकाबाट खोप ल्याउने काम ओली सरकारले गरेको हो भन्न कुनै कञ्जुस्याइँ गर्नु पर्दैन । तर जापानबाट आएको खोप विगतको ओली सरकारको पहलमा नभई अहिलेको देउवा सरकारको पहलमा हो ।
पहिलेको ओली नेतृत्वको सरकारले जनतालाई खोप दिने सवालमा गरेको काम प्रशंसनीय नै छ । तर भारतबाट कोभिशिल्डको आयात हुन नसक्दा महिनौँसम्म जनताले दोस्रो खोप पाउन नसकेको वास्तविकता पनि बिर्सन मिल्दैन । सरकार परिवर्तन भएपनि जनताले खोप पाउने कुरामा राजनीतीकरण गरिनु हुँदैन । चाहे जसको सरकार होस्, जनताले कोरोनाविरुद्धको खोप लगाउन पाउनु पर्छ, पाइरहेका पनि छन् । यसको दायरा बढाउन भने जरुरी छ । अहिलेको गतिले १६ वर्षमाथिका सबै जनताले खोप पाउन निकै समय लाग्न सक्छ । त्यसैले जनतालाई खोप लगाउने विषयलाई प्राथमिकतामा राखेर सरकारले विदेशबाट खोप ल्याउने क्रम बढाउनु पर्छ । सधैँ निषेधाज्ञा र बन्दाबन्दीको जालोमा जकडिएर जनता बस्न सक्दैनन् ।
जस जुन सरकारले लिए पनि नेपालभर कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत पूर्ण मात्राको खोप लगाउनेको संख्या सवा २७ लाख पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पहिलो मात्राको खोप लगाउनेको संख्या साढे ४५ लाख छ । पहिले भारतबाट कोभिशिल्ड, त्यसपछि चीनबाट भेरोसेल, अमेरिकाबाट जेन्सेन र पछिल्लो समय जापानबाट एस्ट्राजेनेका खोप नेपाल ल्याएर जनतालाई लगाउने काम भएको छ । अहिले ५० वर्षभन्दा माथिकाले खोप लगाउने अवसर पाएका छन् । बिस्तारै यो उमेर समूहलाई १६ वर्षमाथिका सबैले खोप पाउने अवस्थासम्म पुर्याउनु पर्छ ।
अहिलेको अवस्थामा कोरोना भाइरसको संक्रमणबाट बच्ने पहिलो र प्रभावकारी उपाय भनेको खोप नै हो । त्यसपछि स्वास्थ्य मापदण्डको पूर्णपालना नै हो ।





