पाँच सामुदायिक विद्यालयलाई स्कुल बस

भरतपुर, २७ साउन ।
भरतपुर महानगरले पाँच सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । महानगरले बुधवार पाँचवटा विद्यालयलाई स्कुल बस हस्तान्त्रण गरेको हो ।

महानगरभित्रका नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि शुक्रनगर र लक्ष्मी मावि जगतपुरलाई बस हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेनु दाहालले सम्बन्धित विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई बसको साँचो हस्तान्तरण गरेकी हुन् ।

अघिल्लो आर्थिक वर्षको बजेटबाट प्रतिबस १९ लाख ९८ हजार रुपैयाँ लागतमा विद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले जानकारी दिए ।

महानगरले यसअघि विद्यार्थीका लागि साईकल हस्तान्तरण, विद्यालयको भौतिक संरचना सुधार र शैक्षिक सुधारका कार्यक्रमहरु गरेको खतिवडाले बताए ।

महानगरको शिक्षाको स्तर सुधार गरि सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्न महानगरले शिक्षा विकासको कार्यक्रम अन्तरगत स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख दाहालले बताइन् ।

महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तरउन्नतिदेखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रबिधिमैत्री शिक्षण सिकाईमा जोड गरेको बताउँदै दाहालले महानगरका नीजि विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी निरन्तर खटिएको बताईन् ।

भरतपुरको नारायणी नमुना माविले चितवन जिल्ला कै ईज्जत राखेकोले महानगरका सबै विद्यालयहरुको शैक्षिक विकासको स्तर त्यही अनुपातमा पुर्‍याउन चाहेको दाहालको भनाई छ । दाहालले विद्यालयलाई हस्तान्तरण गरिएको स्कुल बसको सहि प्रयोग गर्न समेत आग्रह गरुन् ।

भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले किशोरीहरुलाई साईकल वितरण, लोपोन्मुख र सिमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्ति प्रदान, द्वन्द्व प्रभावित बालबालिकाका लागि शैक्षिक सहयोग सामग्री प्रदान, अपागंता भएका बालबालिकाका लागि शैक्षिक सिकाई समग्रीलगायतका अरु धेरै सेवा सुबिधाहरु महानगरका तर्फबाट प्रदान भएको बताए ।

सरकारी विद्यालयको शैक्षिक विकासका लागि महानगरले गरेको प्रयासको प्रतिफलकै कारण २०७६ मा भन्दा २०७७ मा ५ हजार ६ सय विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना भएको उनले बताए । २०७६ को आर्थिक वर्षमा ३७ हजार विद्यार्थी रहेकोमा बढेर ४२ हजार ५ सय पुगेका बताए । संख्यात्मक बृद्धि मात्रै होईन गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुँदै जाने आफूहरुको अपेक्षा रहेको उनले बताए । थोरै विद्यार्थी भएको विद्यालयलाई मर्ज गर्ने नीति महानगरको रहेको र मर्ज गर्दा विद्यालय आउन समस्या हुने विद्यार्थीहरुका लागि बसले धेरै सहजता हुने उनले बताए ।

कार्यक्रममा नारायणी नमुना माध्यामिक विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुल बसले विद्यालयको शैक्षिक स्तर विकासदेखि सरकारी विद्यालयलाई प्रतिस्पर्धी बनाउन विद्यार्थीको आर्कषण बढाउने विश्वास व्याक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट