भरतपुर, २७ साउन ।
गजल मञ्च चितवनबाट प्रदान गरिने रमादेवी – हीरालाल स्मृति पुरस्कार-२०७६ अमला अधिकारीको `आश्रम´ गजलसङ्ग्रह र २०७७ को पुरस्कार चेतनाथ रुवालीको `आमा´ गजलसङ्ग्रहलाई दिने भएको छ ।
वि. सं. २०७६ मा कोभिड १९ का कारण स्थगित भएको यो पुरस्कार वर्ष २०७७ का लागि समेत पुस्तक आह्वान गरेर दुई वर्षको पुरस्कार एकैपटक दामासाहीमा प्रदान गर्ने निर्णय गरिएको गजल मञ्च चितवनका अध्यक्ष द्वारिका नेपालले जानकारी दिए ।
कोभिड १९ का कारण भौतिक कार्यक्रम गरेर पुरस्कार हस्तान्तरण गर्ने वातावरण नभएको हुँदा पुरस्कृत व्यक्तिले प्राप्त गर्ने नगद राशी र सम्मानपत्र वैकल्पिक माध्यममार्फत उपलब्ध गराइने अध्यक्ष नेपालले जानकारी दिए ।
रमादेवी – हीरालाल स्मृति पुरस्कार गजल मञ्च चितवनका संस्थापक एवम् युवा गजलकार विनोद अनुजले आफ्ना हजुरबुबा र हजुरआमाको स्मृतिमा वि. सं. २०७५ सालमा स्थापना गरेका हुन् । यो पुरस्कार पहिलोपटक नमिता बरालको गजलसङ्ग्रह `आँगन´ले प्राप्त गरेको थियो । पुरस्कारको राशी नगद १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।





