भरतपुर, २५ श्रावण ।
लोक तथा दोहोरी गायक शिरीष देवकोटाले नयाँ तीज गीत सार्वजनिक गरेका छन् । सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत उनले “लौरी च च” बोलको गीत सार्वजजिक गरेका हुन् ।
गीतको शब्द देवकोटाकी आमा टुल्कादेवीले लेखेकी हुन् भने लय पनि उनैले सङ्कलन गरेकी हुन् । गीतमा पुरुषको स्वर शिरीषले भरेका छन् भने महिलाको स्वर शान्तिश्री परियारको रहेको छ ।
पाल्पा जिल्लामा जन्मिएका शिरीषले गीतमा सोही क्षेत्रमा प्रचलित भाकालाई गीतको रूपमा उतारेको बताएका छन् । “मेरो मामाघर पाल्पाको याम्घा दर्पुक भन्ने ठाउँमा हो । वि.सं. २०३०/४० सालतिर मामाघरकी हजुरआमाले (स्व. उमादेवी न्यौपाने) तीजको दिन लौरी च च भाका गाउनुहुँदो रहेछ । पछि आमाले त्यो भाका मलाई सुनाउनुभयो । फलस्वरूप आमाकै शब्दमा यो गीत तयार गर्न पाएँ”, गायक देवकोटाले बताए ।
हाल सो भाका गाउने जमात एकदमै न्यून रहेको र भाका नै गाउन छाडिएको उनले सुनाए । “कतिपयले लौरी च च भनेको के हो भनेर सोध्नुभएको छ । त्यसबारेमा स्पष्ट उत्तर मसँग पनि छैन । यो भाका गाउने धेरैजसो अहिले हुनुहुन्न । भाकाको उत्पत्ति र इतिहासका बारेमा पूर्ण जानकारी लिन सकेको छैन । लोपोन्मुख भाकाको संरक्षणका लागि अनुसन्धान गर्नेछु”, उनले भने ।
भाकाको असली सर्जकप्रति आफू कृतज्ञ रहेको समेत उनले कायाकैरनसँगको कुराकानीमा बताए । “यो भाका जसले जन्माउनुभयो, उहाँप्रति एकदमै आभार छु । आफ्नी आमाप्रति पनि सम्मानको रूपमा यो गीत गाउन पाएको छु । श्रोता तथा दर्शकहरूले रुचाउनुहुनेछ भन्ने आशा राखेको छु”, उनले सुनाए ।
करिब ११ मिनेट लामो गीति भिडियोमा केवल छ जना कलाकारले नृत्य प्रस्तुत गरेका छन् । कोरोना भाइरस महामारीको संक्रमण फैलन सक्ने जोखिम रहेकै कारण भिडियो निर्माणमा थोरै जनशक्ति प्रयोग गरिएको गायक देवकोटाले बताए । भिडियोमा निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन् भने सम्पादन प्रकाश धमलाले गरेका हुन् ।
गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :





