चितवनको एसईई नतिजा : २४९ जनाले ल्याए ४.० जीपीए

भरतपुर, २५ श्रावण ।

चितवन जिल्लामा शैक्षिक सत्र २०७७ को एसईई परीक्षामा कूल २४९ जनाले ४.० जीपीए ल्याएका छन् । शैक्षिक सत्र २०७६ को तुलनामा २०७७ मा ४.० जीपीए ल्याउने २० जना परीक्षार्थी थपिएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका अनुसार शैक्षिक सत्र २०७७ को अन्तिम परीक्षामा जिल्लाभरका ११ हजार ८०६ जना परीक्षार्थी सहभागी भएका थिए । यस पटक ११ हजार ५८६ जना परीक्षार्थी सामान्य धारतर्फका थिए भने २०७ जना प्राविधिकतर्फका थिए । १३ जना परीक्षार्थीले ग्रेड वृद्धिका लागि पुनः परीक्षा दिएको इकाईले जनाएको छ ।

शिक्षा विकास इकाईका अनुसार यस पटक ३.६ देखि ४ जीपीएसम्मको अंक प्राप्त गर्ने परीक्षार्थीको संख्या २ हजार २९८ रहेको छ । अघिल्लो वर्ष उक्त संख्या २ हजार २०७ थियो । यस्तै यस पटक २ हजार ८५९ जनाले ३.२ देखि ३.६ सम्मको जीपीए अंक प्राप्त गरेका छन् । २०७७ सत्रको परीक्षामा सबैभन्दा बढी संख्या २.८ देखि ३.२ जीपीए अंक ल्याउने परीक्षार्थीको रहेको छ । उक्त समूहको जीपीए अंक ल्याउने परीक्षार्थी ३ हजार ५३० जना रहेको इकाइका प्रमुख भूमिलाल सुवेदीले बताए ।

यस्तै २.२ देखि २.४ जीपीए अंक प्राप्त गर्ने ३७५ जना र १.६ देखि २.२ जीपीए अंक प्राप्त गर्ने २५ जना रहेको इकाई प्रमुख सुवेदीले जानकारी दिए । गत वर्षको परीक्षाको तुलनामा यस पटक २.२ देखि २.४ सम्मको जीपीए अंक ल्याउने परीक्षार्थीको संख्यामा मात्र कमी आएको हो । अन्य सबै समूहको जीपीए अंक ल्याउने परीक्षार्थीहरूको संख्या यस पटक बढी रहेको छ ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण एसईईका पछिल्ला दुई सत्रका परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट नै प्रकाशन गरिएको थियो । २०७६ सत्रको आन्तरिक मूल्यांकनमा विद्यालयले आफ्ना विद्यार्थीहरूलाई मनोमानी रूपमा अंक दिएको आरोप पनि लागेको थियो । चितवन जिल्लाले पछिल्लो ४ वर्षमा एसईई परीक्षामा गरेको प्रदर्शनलाई आधार बनाउने हो भने आन्तरिक मूल्यांकनबाट लिइएका परीक्षामा तुलनात्मक बढी विद्यार्थीले उच्चतम अंक प्राप्त गरेका छन् ।

शैक्षिक सत्र २०७४ को एसईई परीक्षामा जिल्लाबाट एक जनाले मात्रै ४.० जीपीए ल्याएका थिए । त्यस वर्ष १४६ जनाले ३.६ देखि ४.० जीपीए अंक प्राप्त गरेका थिए । प्राप्तांकलाई मात्रै आधार मान्ने हो भने शैक्षिक सत्र २०७५ मा विद्यार्थीको प्रदर्शनमा सुधार भएको देखिन्छ । २०७५ सत्रको परीक्षामा ११ जना परीक्षार्थीले ४.० जीपीए अंक ल्याउँदा ६२५ जनाले ३.६ देखि ४.० जीपीए अंक प्राप्त गरेका थिए । शैक्षिक सत्र २०७४ को तुलनामा सत्र २०७५ मा ३.६ देखि ४ जीपीए अंक प्राप्त गर्ने परीक्षार्थीको संख्या करिब ३२८.०८ प्रतिशतले बढेको थियो । २०७४ र २०७५ दुवै सत्रमा राष्ट्रिय परीक्षा बोर्डले नै परीक्षा लिएको थियो ।

गत वर्षको परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गरिँदा २२९ जनाले ४.० जीपीए अंक प्राप्त गरेका थिए । यो संख्या २०७५ सत्रमा उक्त अंक ल्याएका कूल परीक्षार्थीको संख्याभन्दा १९८१.८ प्रतिशतले बढी हो । २०७७ सत्रको परीक्षामा भने २४९ जना परीक्षार्थीले ४.० जीपीए ल्याएका छन् जुन २०७५ सत्रको तुलनामा २१६३.६३ प्रतिशत हुन आउँछ ।

२०७२ र २०७३ सत्रसम्म अंग्रेजी र विज्ञान विषयमा मात्रै प्रयोगात्मक परीक्षा हुने गर्दथ्यो । २०७४ सत्रदेखि गणितबाहेक अन्य सबै विषयमा २५–२५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुने भएकाले पनि उच्चतम अंक ल्याउने विद्यार्थीको संख्या बढेको देखिन आएको छ । त्यस खालका प्रयोगात्मक परीक्षामा विद्यालयले विद्यार्थीलाई शतप्रतिशतसम्मै अंक दिने गरेका छन् । २०७४ सत्रमा देशभर ७४ जनाले मात्रै ४.० जीपीए अंक प्राप्त गरेका थिए । २०७५ मा त्यो संख्या १०६ थियो । जुन शैक्षिक सत्र २०७६ र २०७७ मा ४.० जीपीए ल्याएका चितवन जिल्लाका मात्रै विद्यार्थीको संख्याभन्दा पनि कम हो । यस्तोमा धेरैले सोध्ने प्रश्न हुन सक्छ, एक शैक्षिक सत्रको अन्तरमै ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या कसरी बढ्न पुग्यो ?

शिक्षा विकास तथा समन्वय इकाई भरतपुरका प्रमुख भूमिलाल सुवेदी भने विद्यालयहरूले अस्वाभाविक अंक प्रदान नगरेको जिकिर गर्छन् । “यस पटक एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी भएको थियो । हामीले सोही अनुसार नै विद्यार्थीले प्राप्त गरेको अंकलाई पटकपटक प्रमाणीकरण गरेका छौं”, उनले भने । कार्यविधिमा सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीको कैफियतमा विषयगत शिक्षकले ठोस कारण उल्लेख गरेको हुनुपर्ने प्रावधान राखिएको छ । सुवेदीले सोही प्रावधान अनुसार नै विद्यार्थीको प्राप्तांक प्रमाणीकरण गरेको बताए ।

“विद्यार्थीले तल्लो कक्षा ८ र ९ का परीक्षा तथा कक्षा १० का अघिल्ला परीक्षामा कस्तो प्रदर्शन गरेको छ, हामीले त्यसलाई पनि आधार बनाएका छौं । सँगै उसको कक्षागत क्रियाकलाप, प्रयोगात्मक कार्य, लगनशीलता लगायत पक्षका आधारमा अंक दिइएको छ”, सुवेदीले भने । परीक्षामा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीको संख्या बढ्नुमा जथाभावी अंक दिइएको नभई विद्यार्थीले आफ्नै मिहिनेतबाट सो अंक प्राप्त गरेको उनको भनाइ थियो ।

“प्रविधिको विकास र समयसँगै अहिले विद्यार्थी बढी जान्नेबुझ्ने भएका छन् । सुधारिएको नतिजा आउनुमा विद्यार्थीको लगनशीलता र शिक्षक तथा अभिभावकको सही परामर्श पनि रहेको छ”, सुवेदीले अगाडि थप्दै भने, “यसबाट चितवन जिल्लाको शैक्षिक गुणस्तर पनि वृद्धि हुँदै गएको भनी बुझ्न सकिन्छ ।”

एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिले प्रयोगात्मक परीक्षा हुने विषयका लागि २० पूर्णांकको निर्माणात्मक मूल्यांकन तथा ५५ पूर्णांकको निर्णयात्मक मूल्यांकन गर्नुपर्ने व्यवस्था गरेको थियो । निर्माणात्मक मूल्यांकनमा सिकाइ सहभागिता, गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, समाजिक कार्य, अनुशासन र सरसफाइ, अतिरिक्त क्रियाकलाप र इकाई परीक्षाका आधारमा अंक दिइएको थियो ।

यस्तै, निर्णयात्मक मूल्यांकनमा प्रथम त्रैमाशिक, द्वितीय त्रैमाशिक, तृतीय त्रैमाशिक र अन्तिम परीक्षाको क्रमशः ८, १२, १५ र २० प्रतिशत अंक प्रदान गर्न कार्यविधिमा भनिएको थियो । प्रयोगात्मक परीक्षा नहुने विषयका हकमा भने विद्यालयले अगाडि लिएको परीक्षाका आधारमा ७५ अंक र विषय शिक्षकले मूल्यांकन गरी २५ प्रतिशत अंक दिएका हुन् ।

 

यस अघि पोष्ट भएको सामग्रीमा ‘शैक्षिक सत्र २०७४ को एसईई परीक्षामा जिल्लाबाट एक जनाले मात्रै ४.० जीपीए ल्याएको’ हुनुपर्नेमा अन्यथा पर्न गएकोमा सच्याइएको जानकारी गराउँदछौं ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट