भरतपुर, २५ साउन ।
रोटरी क्लव अफ नारायणी मिट टाउनले पञ्चदीप आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरेको छ । रत्ननगर-१२ मा रहेको उक्त विद्यालयमा शिशु तथा कक्षा १ र २ मा अध्ययनरत १० जना बालबालिकाहरुलाई शैक्षिकसत्र २०७८/७९ बाट कक्षा १० सम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गर्ने दोस्रो चरणको कार्यक्रम अगाडी बढाएको छ ।
`स्वार्थभन्दा माथि सेवा´ भन्ने मूल नाराबाट स्थापित रोटरी क्लबले अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा आरसी नारायणी मीड टाउनका पूर्व अध्यक्ष डा. केशव भुर्तेल , निवर्तमान अध्यक्ष यमनाथ दनै, सचिव अनुज पन्त, कार्यक्रम संयोजक कृष्णलाल दाहालसहित १२ जना रोटरीयनहरु र विद्यालयका प्राचार्य सर्मिला भट्ट, संस्थापक अध्यक्ष श्याम बराल, शिक्षाबिद् वसन्त अधिकारीसहित केहि अभिभावक र विद्यालयका बालबालिकाबिच कार्यक्रम गरेको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष वीरबहादुर पाख्रीनको विशेष उपस्थिति थियो । यस विद्यालयमा यसै क्लबबाट शुद्ध खानेपानी व्यवस्थापन गरिएको छ भने आगामी वर्षमा थप विद्यार्थीहरुलाई अभिभावकत्व ग्रहण गर्दैजाने अध्यक्ष खनालले जानकारी गराए ।
यस किसिमको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम पहिलो चरणमा ५ वर्ष अगाडीदेखि इच्छाकामना-७ मा रहेको गर्दास मावि गर्दासमा २५ जना बालबालिकाहरुलाई अभिभावकत्व गर्दै आएको थियो । अहिले अरू १० जना थप गरी ३५ जना पुर्याइएको अध्यक्ष खनालले बताए ।





