कुलमानलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

भरतपुर, २५ साउन ।
मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।

बैठक साँझ ५:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जानकारी दिइएको छ ।

आजको बैठकको मुख्य एजेण्डा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गर्ने रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्‍मा यससम्बन्धी प्रस्ताव लैजाने जानकारी एक मन्त्रीले दिए । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गर्ने तयारी रहेको ती मन्त्रीले बताए ।

यसअघि प्रधानमन्त्री देउवाले प्राधिकरणको प्रमुखमा घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएको समाचार बाहिर आएको थियो । उक्त निर्देशनपछि घिसिङलाई नियुक्त गर्ने ‘प्रक्रिया’ समेत सुरु भइसकेको ऊर्जा मन्त्रालय स्रोतले बताएको थियो ।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर पदबाट राजीनामा दिन आग्रह गरेको बताइएको थियो । तर, शाक्यले भने आफूलाई राजीनामा दिन नभनेको प्रस्टीकरण दिएका थिए । उनले सरकारले उपयुक्त ठाउँमा जिम्मेवारी दिए प्राधिकरण नेतृत्व छाड्न तयार रहेको बताउँदै आएका छन् । तर, अपमानजनक रुपमा हटाइए अदालत जाने उनको भनाइ छ ।

शाक्यले प्राधिकरण प्रमुखको जिम्मेवारी सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले कुलमानलाई नै प्राधिकरणको नेतृत्वमा ल्याउन भनेका हुन् ।

घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए । दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त्य गरेका उनले प्राधिकरणको व्यवस्थापनमा पनि ‘उल्लेख्य’ सुधार गरेका थिए ।

घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो । त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा ‘रुचि’ देखाएका थिएनन् ।

घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट