भरतपुर, २५ श्रावण ।
पछिल्ला वर्षहरूमा दृश्य छायाङ्कनका लागि ड्रोन क्यामेराको प्रयोग गर्ने चलन दिनप्रतिदिन बढ्न थालेको छ । चलचित्र तथा म्युजिक भिडियोदेखि विवाह लगायत कार्यक्रमको छायाङ्कन गर्न चितवन जिल्लाभित्र पनि ड्रोन क्यामेराको प्रयोग बढ्न थालेको छ । तर अधिकांश ड्रोन क्यामेरा नियामक निकायसँग अनुमति नै नलिई सञ्चालन हुँदै आएका छन् । जसले गर्दा गोपनीयता तथा सुरक्षाको क्षेत्रमा जोखिम थपिदिएको छ ।
मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि, २०७५ का अनुसार जुनसुकै उद्देश्यले प्रयोग हुने हवाई उपकरणहरू (ड्रोन) नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता हुनुपर्छ । प्राधिकरणमा दर्ता गरी युनिक आइडेन्टिफिकेसन नम्बर (यूआईएन) लिएपछि मात्रै ड्रोन उडाउन पाइने नियम भएपनि कतिपयले दर्ता र अनुमतिबिनै ड्रोन चलाउने गरेका छन् ।
कार्यविधिका अनुसार प्राधिकरणमा नयाँ ड्रोन दर्ता गर्न व्यक्तिको हकमा नागरिकता वा राहदानीको प्रतिलिपि तथा संस्थाको हकमा संस्था दर्ताको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । सोसँगै ड्रोन सञ्चालन गर्ने व्यक्ति वा संस्थाले ड्रोन के उद्देश्यले प्रयोग गर्न लागेको हो सो कारण पनि खुलाउनुपर्ने हुन्छ । “ती कागजातसँगै ड्रोनको स्पेशिफिकेसन र म्यानुअलको प्रतिलिपि पनि बुझाउनुपर्ने हुन्छ । ड्रोन नेपालमा खरिद गरेको भए बिल बिजक तथा विदेशबाट खरिद गरी ल्याएको भए भन्सार विजकको प्रतिलिपि पनि बुझाउनुपर्छ”, प्राधिकरणको फ्लाइट सेफ्टी विभागका प्रवीण भट्टराईले बताए । दर्ताका लागि ड्रोनको रंगीन तस्बिर पनि बुझाउनुपर्ने उनले जानकारी दिए ।
प्राधिकरणका अनुसार ड्रोन दर्ता गर्दा कुनै पनि शुल्क लाग्दैन । यस्तै एक पटक दर्ता गरिएको ड्रोन क्यामेरालाई एक वर्षपछि पुनः नवीकरण गर्नुपर्ने भट्टराईले बताए । ड्रोन दर्ता गरिसकेपछि प्राधिकरणले उपलब्ध गराएको युनिक आइडेन्टिफिकेसन नम्बर ड्रोनमा टाँस्नुपर्ने हुन्छ । ड्रोन दर्ता गर्नासाथ ड्रोन पाइलटलाई सदाका लागि ड्रोन उडाउन अनुमति मिल्ने भने होइन । ड्रोन दर्ता गरिसकेपछि पनि व्यक्ति वा संस्थाले हरेक पटक ड्रोन उडाउनुअघि स्थानीय प्रशासन, प्रहरी वा विमानस्थल कार्यालयसँग उडान अनुमति लिनुपर्ने हुन्छ । यसरी लिइने इजाजत पत्रको म्याद इजाजत जारी भएको मितिले बढीमा तीन महिनासम्मको मात्रै हुन्छ ।
हाल नेपालभर ४६५ वटा ड्रोन प्राधिकरणमा दर्ता गरिएका छन् । चितवन जिल्लाभित्र पनि करिब ७० भन्दा बढी ड्रोन क्यामेरा सञ्चालित छन् । तीमध्ये कतिपयले उडान अगाडि अनुमति लिने त टाढाको कुरा उपकरण नै समेत दर्ता गराएका छैनन् । नारायणघाटस्थित क्यानन हाउस सोरुमका सञ्चालक सुपथ अधिकारी जिल्लामा करिब ७० बढी ड्रोन क्यामेरा सञ्चालनमा रहेको बताउँछन् । चलचित्र तथा विवाह व्रतबन्ध लगायत कार्यक्रमको छायांकनका लागि त्यस्ता क्यामेराको खरिद बिक्री हुने गरेको उनको भनाइ छ । “नयाँ प्रविधि भएकाले यसतर्फ अकार्षित हुनेको संख्या बढ्दै गएको छ । ड्रोनले भिडियो तथा तस्बिर आकाशबाट खिच्ने भएकाले परम्परागत क्यामेराबाट खिचिएको भन्दा फरक हुने गर्छ”, अधिकारीले थप्दै भने, ”ड्रोन खरिद गरेका कतिपयलाई ड्रोन दर्ता गर्नुपर्छ भन्ने नै थाहा छैन । कतिपयले वस्ता नै गरेका छैनन् ।” नेपाली बजारमा ड्रोन क्यामेराको बजारी मूल्य करिब ५५ हजार रुपैयाँदेखि सुरु हुने गरेको अधिकारीले जानकारी दिए ।
कार्यविधिले ड्रोन उपकरणलाई विभिन्न ४ प्रकारमा वर्गीकरण गरेको छः पहिलो २५० ग्र्रामभन्दा कम तौल भएको, दोस्रो २५० ग्रामदेखि २ किलोग्रामसम्मको तौल भएको, तेस्रो २ देखि २५ केजी तौल भएको र चौथो २५ केजीभन्दा बढी तौल भएको । यीमध्ये २५ केजीभन्दा बढी तौल भएका ड्रोनलाई जोखिमयुक्त भनिएको छ भने अन्य तीन प्रकारका ड्रोनलाई कम जोखिमयुक्त भनिएको छ । प्राधिकरणका अनुसार विश्वविद्यालय वा कुनै पनि शैक्षिक अध्ययन केन्द्रको पूर्वस्वीकृति लिएर विश्वविद्यालय वा शैक्षिक केन्द्रको हाताभित्र जमिनदेखि २०० फिटको उचाइसम्ममा २ केजीसम्मका ड्रोन उडाउन प्रशासन वा प्राधिरणको अनुमति लिनुपर्ने छैन । यद्यपि ड्रोन उडानका बारेमा सञ्चालकले प्रहरीलाई जानकारी गराउनुपर्ने, सुरक्षाको सम्पूर्ण व्यवस्था लिनुपर्ने तथा व्यक्तिगत गोपनीयतामा आँच पुग्ने काम गर्न नहुने व्यहोरा कार्यविधिमा उल्लेख गरिएको छ ।
यस्तै व्यक्तिगत तवरबाट आयोजना गरिने कार्यक्रम, सांस्कृतिक, धार्मिक वा परम्परागत पर्व वा उत्सवमा २५० ग्रामभन्दा कम तौलको ड्रोन उडान गर्न पनि प्रशासन तथा प्राधिकरणको अनुमति नचाहिने व्यवस्था गरिएको छ । तर ड्रोन पाइलटले क्यामेरालाई जमिनबाट ५० मिटरको उचाइभित्र कायम राख्नुपर्ने हुन्छ भने ड्रोन सञ्चालनका बारेमा प्रहरीलाई पनि जानकारी गराउनुपर्ने हुन्छ । यद्यपि ड्रोन पाइलटले यस्ता नियमको पालना गरिएको भने पाइएको छैन । २५० ग्रामदेखि २ केजीसम्मका ड्रोनका लागि उल्लेख गरिएका अवस्थामा मात्रै सञ्चालनको अनुमति लिनुनपर्ने भनिएकोमा ड्रोनको जथाभावी प्रयोग बढ्न थालेको हो ।
अनुमति लिएर ड्रोन उडाउने एकदमै कम
जिल्लाभर ७० वटा भन्दा बढी ड्रोन सञ्चालनमा रहेको भएपनि प्रशासन कार्यालयमा उडानको अनुमति लिन पुग्नेको संख्या एकदमै न्यून रहेको छ । कार्यालयका अनुसार वर्ष २०७६ भरि ड्रोन उडानको अनुमतिका लागि जम्मा ३ वटा निवेदन दर्ता भएका थिए । २०७७ सालभर पनि ३ वटा ड्रोन सञ्चालकले मात्रै प्रशासनबाट ड्रोन उडानको अनुमति लिएका थिए । २०७८ साल सुरु भएपछि भने ड्रोन उडानको अनुमति पाऊँ भनी एउटा मात्रै निवेदन प्राप्त भएको प्रशासन कार्यालयको सामान्य प्रशासन शाखाका खरिदार श्याम सुन्दर ढकाल ले बताए ।
“धेरैलाई ड्रोन उडानका लागि प्रशासनबाट अनुमति लिनुपर्छ भन्ने थाहा नपाएर पनि जथाभावी उडाइरहेको पाएका छौं । ड्रोन प्रयोग गर्ने सबैलाई स्वीकृति लिएर मात्रै ड्रोन उडाउन अनुरोध गर्ने गरेका छौं”, ढकालले थप्दै भने, “अनुगमन गरेर सबै ड्रोन उडानलाई प्रशासनको मातहतमा ल्याउन प्रयासरत छौं ।” नागरिक उड्डयन कार्यालय, भरतपुरका सूचना अधिकारी पुष्कल राज शर्माले हालसम्म ड्रोन उडाउन पाऊँ भनी विमानस्थलसँग कसैले पनि अनुमति नलिएको बताए ।
“विमानस्थलको स्वीकृति लिएर ड्रोन उडाएको राम्रो हो । तर विमानस्थलको रेकर्डमा हालसम्म कसैले पनि ड्रोन उडानको अनुमति लिएको देखिएको छैन”, शर्माले कायाकैरनसँग भने ।
ड्रोन कहाँकहाँ उडाउन पाइँदैन ?
“ड्रोन जस्ता उपकरण व्यक्तिगत जग्गा र घरको माथि उडाउन पाइँदैन । खुल्ला ठाउँमा पनि २०० फिटभन्दा माथिको उचाइमा ड्रोन उडाउन चितवनको हकमा भरतपुर विमानस्थल र प्रशासन कार्यालयको अनुमति लिनुपर्छ”, जिल्ला प्रशासन कार्यालय चितवनको सामान्य प्रशासन शाखाका श्याम सुन्दर ढकालले भने । त्यसै गरी जिल्ला जैविक विविधताको दृष्टिकोणले पनि महत्त्वपूर्ण स्थान भएकाले चितवन राष्ट्रिय निकुञ्ज र अन्य पर्यावरणीय महत्त्व बोकेका स्थानमा पनि ड्रोन उडाउन नपाइने नियम रहेको उनले सुनाए ।
“विमानस्थल क्षेत्र आसपासको ५ किलोमिटर क्षेत्र, विमानको सुरक्षार्थ उचाइ सुरक्षित गरिएका हवाई मार्ग, अन्तर्राष्ट्रिय सीमानाको ५ किलोमिटर क्षेत्र, सैनिक वा सुरक्षा निकायको मुख्यालय, तालिम केन्द्र अवस्थित क्षेत्रको १००० मिटर र अन्य सुरक्षा इकाइ रहेको ५०० मिटर वरिपरि ड्रोन उडाउन पाइँदैन”, ढकालले भने ।
स्थानीय प्रशासन तथा निकायले पुरातात्त्विक, धार्मिक, ऐतिहासिक वा नियन्त्रित भनी वर्गीकरण गरेको क्षेत्रमा पनि ड्रोन उडाउन नपाइने नियम रहेको छ ।
काठमाडौँ उपत्यकाका हकमा भने माइतीघर मण्डला, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानीलकण्ठ, दरबार स्क्वेयर क्षेत्र लगायतका पुरातात्त्विक सम्पदाका क्षेत्रमा ड्रोन उडाउन नपाइने कार्यविधिमा उल्लेख गरिएको छ । यिनका साथै सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ट पधादिकारीहरूको कार्यालय एवं निवास रहेको १००० मिटर वरिपरि पनि ड्रोन उडान गर्न निषेध गरिएको छ । सुरक्षा कारबाही भइरहेको दंगाग्रस्त क्षेत्रमा पनि ड्रोन उडानलाई प्रतिबन्धित गरिएको छ ।





