भरतपुर, २० श्रावण ।
नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ११ हजार ३५४ परीक्षणमा २ हजार ९७५ तथा एन्टिजेन विधिबाट गरिएका ४ हजार ९४४ परीक्षणमा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् । सोसँगै देशभर हालसम्म संक्रमणबाट निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ । यो संख्या कूल संक्रमितको करिब ९४ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्षसम्मको उमेर समूहका ७३२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हालसम्म गरिएका पीसीआर परीक्षणको संख्या ३६ लाख ४४ हजार ४७२ पुगेको छ । एन्टिजन विधिबाट गरिएका परीक्षणको हालसम्मको संख्या भने ३ लाख ३६ हजार ८२३ रहेको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएका परीक्षणमा ७ लाख ५ हजार ७२ तथा एन्टिजेन विधिबाट गरिएका परीक्षणमा ६४ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३५ जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ९ हजार ९५७ पुगेको छ ।
देशभर भाइरसका सक्रिय संक्रमितको संख्या भने ३३ हजार ४६४ रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा छन् भने बाँकी ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ३७८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १५६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या ७१४ रहेकोे छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ९२ जनाको भेन्टिलेटरमा तथा ४४७ जनाको आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार हालसम्म ४२ लाख ९७ हजार ६१२ जनाले कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएका छन् । पूर्ण मात्राको खोप लगाउनेको संख्या भने २० लाख ७४ हजार ७८६ रहेको छ । तीमध्ये ८ लाख ८१ हजार ५५६ जनाले जेन्सेन खोपको एक मात्र मात्रा लगाएका हुन् भने अन्यले कोभिसिल्ड र भेरो सेल खोपको दुवै मात्रा लगाएका हुन् ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चितवनका ९२, काठमाडौंका ९०८, ललितपुरका २०६ र भक्तपुरका १६५ जनामा संक्रमण पुष्टि भएको छ ।
वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा ४२, नुवाकोटमा ५३ र सिन्धुपाल्चोकमा १६ जना संक्रमित थपिएका छन् ।
सोही अवधिमा चितवनका छिमेकी जिल्लाहरू पर्सामा १, मकवानपुरमा १०२, धादिङमा १९, नवलपुरमा ५८, नवलपरासीमा ५, तनहुँमा ५५ र गोरखामा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश नं १ को झापामा २९६, मोरङमा १३२ र सुनसरीमा ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं २ भरि २२ जना संक्रमित थपिएका छन् ।
यस्तै गण्डकी प्रदेशको कास्कीमा २२६ जना नयाँ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीका ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशभर ७७ तथा सुदूरपश्चिम प्रदेशभर पनि ४९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला, चितवन, नवलपुर सहित १६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ ।





