भरतपुर, २० श्रावण ।
स्वास्थ्य कार्यालय चितवनले बुधबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २५३ पुगेको छ । आइतबारसम्म सो संख्या २०८ रहेको थियो ।
हाल अस्पतालका आइसीयु कक्षमा ८७ जना, एचडीयू कक्षमा ५५ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा १११ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये २४ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ११६, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ६४, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पतालमा २४ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि २५ जना संक्रमितले उपचार गराइरहेका छन् ।
अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ८६२ वटा शय्या छुट्याइएका छन् ।
हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा १० जना, कालिका नगरपालिका केन्द्रमा ६ जना तथा रत्ननगर नगरपालिका केन्द्रमा ३ जना संक्रमित राखिएका छन् । अन्य स्थानीय तहका आइशोलेसन केन्द्रमा भने संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका १० जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा २, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ७ तथा कलेज अफ मेडिकल साइन्सेनमा १ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये ५ जना चितवनका हुन् । यस्तै एक जना गोरखा, एक जना मकवानपुर तथा तीन जना मृतक नवलपुरका भएको कार्यालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट २१ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।





