चितवनमा एकै दिन २१५ जना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

भरतपुर, २० श्रावण ।

पछिल्लो २४ घण्टामा चितवनका थप २१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४६ जनामा पीसीआर तथा ६९ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ७७७ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सोही अवधिमा १८९ वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब २२.२५ प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।

यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल २ हजार ३२० रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये १८३ जना अस्पतालको आइशोलेसनमा छन् भने २ हजार १२७ जना घरमै आइशोलेसनमा रहेका छन् । जिल्लाका १० जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।

थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या २१ हजार १६७ पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १५ हजार ७० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १८ हजार ५०६ जना संक्रमितलाई निको भइसकेको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ जना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये तीन जना भरतपुर म.न.पा.का हुन् भने अन्य ११ जना खैरहनी र रत्ननगर न.पा.का भएको कार्यालयले जनाएको छ । सोसँगै जिल्लाभित्र हालसम्म संक्रमणका कारण ३४१ जनाको ज्यान गएको छ । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २१५ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

रत्ननगर नगरपालिकाका ३४ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका २५ तथा राप्तीका २९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २१, माडी नगरपालिकाका १४ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट