भेरो सेलको पहिलो मात्रा लगाएका ५५ वर्षमाथिकालाई साउन २२ देखि दोस्रो मात्रा

भरतपुर, २० साउन ।

कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत साउन २२ गतेदेखि ५५ वर्षमाथिका लक्षित वर्गलाई भेरो सेल खोपको दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले देशभरका ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई खोप अभियानको सञ्चालनका सम्बन्धमा परिपत्र पठाएको हो ।

विभागले भेरो सेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन भनेको हो । चितवन जिल्लामा साउन १ गतेदेखि ४ गतेसम्म ५५ वर्षमाथिका लक्षित समूहलाई खोप दिइएको थियो ।

यस्तै खोप लगाउन बाँकी रहेका नागरिकलाई स्वास्थ्य मन्त्रालयको वेभसाइटमा नाम अनिवार्य दर्ता गराउन पनि विभागले आग्रह गरेको छ । सोही दर्ताका आधारमा मात्रै तोकिएको लक्षित समूहलाई खोप प्रदान गर्न पनि विभागले प्रदेशस्थित निर्देशनालय तथा जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ ।

विदेश जाने नेपाली नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको विद्युतीय प्रमाणपत्र बुधबारदेखि कीर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट दिइने पनि विभागले जनाएको छ । बुधबार नै एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य कार्यालय चितवनले विदेश जान लागेका जिल्लाका नागरिकलाई आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाटै क्युआर कोड सहितको विद्युतीय प्रमाणपत्र लिन भनेको छ । सो प्रमाणपत्रको वितरणको कार्य अन्य जिल्लामा पनि विस्तार गरिने विभागले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट