भूमि समस्या समाधान आयोग खारेज, यस्ता छन् सरकारका थप निर्णय

भरतपुर, १९ साउन ।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको सो आयोग खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । आचरणविपरीत काम गरेकाले महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले शिक्षक सेवा आयोगलाई पूर्णता दिएको छ । जसअनुसार आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी तथा सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ । बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र अतिथि सम्पादक गोपाल खनालले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

सरकारले कोभिड नियन्त्रणका लागि एडिबीले दिएको करिब २३ अर्ब ५८ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली–२०७८ पनि स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समूहीकरण क्लष्टरतर्फ राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव हरिप्रसाद मैैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

सरकारले राष्ट्रिय विभूषण छनोट समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकूलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका अवकाशप्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त पनि गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट