भरतपुर, १९ साउन ।
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले मंगलबार सबै खालका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । राष्ट्रिय क्रिकेट टोलीमा पारसको उपस्थितिसँग अभ्यस्त भएका क्रिकेटप्रेमीका लागि निश्चय पनि कठिन समय बनेको छ । उनैले खेलेको देखेर हुर्किएका समर्थकका लागि एउटा युगको अन्त्य भएको छ । पारसले नेपाली क्रिकेटको स्तरोन्नति गर्ने कार्यमा खेलेको भूमिकाले नेपाली क्रिकेटको इतिहासमा नयाँ कोशेढुंगा पनि थपिदिएको छ । जसलाई लिएर पारस बाँकी जीवनभर गर्व गर्न सक्नेछन् ।
पारसको जन्म वि.सं २०४४ साल कार्तिक ७ गते काठमाडौँमा भएको हो । सानै उमेरदेखि खेलकूदमा रुचि राख्ने पारस पढाइमा पनि औसत विद्यार्थी मानिने गर्दथे । “सानो छँदा मौसम अनुसारको खेल खेलिन्थ्यो । फिफा विश्वकप चलिरहेका बेला फुटबल खेल्थ्यौँ । क्रिकेट विश्वकप हुँदा क्रिकेट खेल्थ्यौँ”, उनी आफ्नो बाल्यकाललाई यसरी सम्झन्छन्, “बानेश्वरमा हामी बस्ने ठाउँ नजिकै फाँटैफाँट थिए । छुट्टीका दिन त्यहीँ गएर खेल्थ्यौँ ।” पारसले क्रिकेट खेल्न थाल्दाको समयताका नेपालमा खासै क्रिकेटको विकास भइसकेको थिएन । सामान्य टेनिस बल किन्ने गरेको भएपनि ब्याट भने काठका टुक्राटुक्री जोरजाम गरेर बनाउने गरेको उनी सुनाउँछन् ।

पछि नयाँ वानेश्वरस्थित साउथ प्वाइन्ट बोर्डिङ हाइ स्कुलमा पढ्दै गर्दा एक दिन उनले केबी खत्री अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका बारेमा पत्रिका पढेर थाहा पाउन पुगे । सो पत्रिकाको कटिङ लिएर पारस आफ्नो विद्यालयका खेलकूद शिक्षकसम्म पुग्छन् । “त्यो बेला खासै धेरै प्रतियोगिता हुँदैन थिए । त्यही भएर मैले नै स्पोर्ट्स टिचरलाई उक्त प्रतियोगितामा हामी पनि भाग लिऔँ न भनेर आग्रह गरेको थिएँ”, पारसले सुनाए । आयोजकसँग पटकपटकको अनुरोधपछि बल्ल पारसको स्कुलले प्रतियोगितामा ठाउँ पायो । त्यहाँबाट पारस औपचारिक रूपमा क्रिकेटर भनेर चिनिन थाले । संयोगले उनको विद्यालय प्रतियोगिताको फाइनलमा मात्रै पुगेन, पारसको कप्तानीमा प्रतियोगिताको उपाधि नै कब्जा गर्न सफल भयो । त्यहाँबाट पारस काठमाडौँको क्षेत्रीय टिममा छनौट हुन पुगे । त्यो घटना उनको लामो क्रिकेट यात्राको पहिलो पाइला मात्रै थियो ।
पारसले नेपाललाई पहिलो पटक सन् २००२ मा संयुक्त अरब एमिरेट्समा आयोजित यू–१५ उमेर समूहको एसिया कपमा प्रतिनिधित्व गरेका थिए । त्यसपछि सन् २००३ मा पाकिस्तानको कराँचीमा आयोजित युथ एसिया कप खेलेका पारसले सन् २००४, २००६ र २००८ गरी तीन संस्करणका यू–१९ विश्वकपमा पनि आफ्नो छाप छोड्न सफल भएका थिए । २००८ को यू–१९ विश्वकपमा पारसले कूल १२ विकेट लिँदै टोलीलाई प्लेट फाइनलसम्म पुर्याएका थिए । पारसले नेपाली सिनियर क्रिकेट टोलीबाट सन् २००४ को अन्तरमहादेशीय कपमा डेब्यु गरेका थिए । उक्त प्रतियोगिता फस्र्ट क्लास फम्र्याटमा खेलाइने गरिन्छ ।
प्रखर नेतृत्व शक्तिका खानी पारसले सन् २००९ देखि भने सिनियर टोलीकै कमानी सम्हाल्न थाले । पुराना कप्तानहरूले मिहिनेत गरेर टोलीलाई जस्तो स्थितिमा ल्याएका थिए, पारसले त्यसमा थप इँटा राख्दै गए । उनको नेतृत्वदायी भूमिका र अन्य खेलाडीको अथक परिश्रमले नेपाली क्रिकेटलाई यो सुनौलो मोडसम्म ल्याएको छ । नेपाली क्रिकेटले प्राप्त गरेको उपलब्धिलाई हेर्ने हो भने पारस हालसम्मका सबैभन्दा सफल कप्तान मानिन्छन् । सन् २०१० मा नेपालले उनकै कप्तानीमा आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेको थियो । त्यसपछि पटकपटकको बडुवा र घटुवा सहँदै नेपाली क्रिकेट पारसकै कप्तानीमा लिग टु सम्म आइपुगेको हो । सो क्रममा नेपालले २०१२ को लिग डिविजन फोर र २०१४ को लिग डिविजन थ्री उपाधि पनि जितेको थियो । सन् २०१८ को लिग डिभिजन टु मा दोश्रो स्थान हात पार्दै नेपालले सोही वर्ष विश्वकप छनौट पनि खेलेको थियो । विश्वकप छनौट प्रतियोगिताको नवौँ स्थानका लागि भएको प्रतिस्पर्धामा पापुवा न्यू गिनीलाई हराउँदै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो ।

यसअघि सन् २०१४ मा पहिलो पटक टिट्वान्टी वल्र्ड कप खेल्दा चुलिएको नेपाली क्रिकेटको उचाइ एकदिवसीय मान्यता पाएपछि अझै माथि आकाशिन पुग्यो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि पहिलो पटक २०१८ को अगष्टमा नेदरल्याण्ड्सविरुद्ध दुई म्याचको शृंखला खेलेको थियो । पारसकै कप्तानीमा खेलिएको त्यो शृंखलामा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियतर्फको पहिलो जीत चाखेको थियो । उक्त शृंखला १–१ को बराबरीमा टुंगिएको थियो । पहिलो खेल ५५ रनले गुमाउन पुगेको नेपालले दोस्रो खेलमा १ रनको नाटकीय जीत निकालेको थियो । सो खेलमा नेदरल्याण्ड्सले जीतका लागि २१७ रन बनाउनुपर्ने थियो । पारीको अन्तिम ओभरमा उसलाई खेल जित्न जम्मा ६ रन चाहिन्थ्यो । जबकी उसले ९ विकेट गुमाइसकेको थियो । सो अवस्थामा पारसले अन्तिम ओभर आफैँले फाल्ने निर्णय लिएका थिए । ओभरको पहिलो बलमा नेदरल्याण्डले १ रन चोर्दा दोस्रो बल पारसले डट फाले । तेस्रो बलमा एक र चौथो बलमा २ रन बटुल्दै नेदरल्याण्डका तल्लो क्रमका ब्याट्सम्यानले पारसमाथि दबाब बनाउन खोजेका थिए । तर पारसले संयम गुमाएनन् । त्यसपछि पाँचौ बलमा उनले ब्याट्सम्यानलाई रन लिन दिएनन् । अन्तिम बलमा घरेलु टोलीलाई खेल जित्न दुई रन चाहिन्थ्यो तर नेदरल्याण्ड्सका फ्रेड क्लेसनलाई रन आउट पार्दै पारसले नेपाललाई एक रनको ऐतिहासिक जीत दिलाएका थिए । उक्त खेलमा पारसले आफ्नो ब्याट्बाट ५१ रन समेत हिर्काएका थिए ।

दुई वर्षअघि कप्तानकोे पदबाट राजिनामा दिनुपूर्व उनले कूल ६ खेलमा टोलीको कमानी सम्हालेका थिए । जसमध्ये ३ खेलमा नेपालले जीत हात पारेको थियो । नेपाललाई युएई विरुद्ध पहिलो एकदिवसीय शृंखला जिताउने क्रममा पनि पारसले नेतृत्वदायी भूमिका खेलेका थिए । टिट्वान्टी अन्तर्राष्ट्रियतर्फ भने उनले कमानी सम्हालेको २६ मध्ये ११ खेलमा नेपाललाई जीत दिलाएका छन् ।
पारसले आफ्नो ओडिआई करियरमा १० खेलबाट ३५ को औसतमा ३१५ रन बनाएका छन् । सो फम्र्याटको खेलमा उनले बलिङतर्फ भने ९ विकेट लिन सफल भएका छन् । क्रिकेटको छोटो प्रारूप टिट्वान्टी अन्तर्राष्ट्रियमा भने पारसले ३३ खेलमा २७.५५ को औसतमा ७९९ रन बनाएका छन् । बलिङतर्फ भने उनले ८ वटा टिट्वान्टी विकेट लिएका छन् । एकदिवसीय तथा टिट्वान्टी दुवै प्रारूपका क्रिकेटमा पारसले १–१ वटा शतक प्रहार गरेका छन् । एकदिवसीय र ट्टिवान्टी अन्तर्राष्ट्रिय दुवै फम्र्याटका खेलमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी पनि हुन् । पारसले २०१९ को जनवरीमा युएई विरुद्ध ११५ रनको पारी खेलेका थिए । यस्तै, सन् २०१९ को सेप्टेम्बरमा सिंगापुर विरुद्धको टिट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पारसले लक्ष्य पछ्याउने क्रममा १०६ रनको अविजित पारी खेलेका थिए । सो क्रममा उनी टिट्वान्टी अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पहिलो कप्तान बन्ने श्रेय पाएका थिए । सन् २०२१ मा दक्षिण अफ्रिका विरुद्धको एक टिट्वान्टी अन्तर्राष्ट्रियमा पाकिस्तानका कप्तान बाबर अजामले सो प्रकृतिको दोस्रो कीर्तिमान् बनाएका थिए ।

नेपाली क्रिकेटले पछिल्ला दशकहरूमा उत्कृष्ट सुधार गरेको छ । त्यसका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सरोकारवालाहरूले आआफ्नो क्षेत्रबाट योगदान दिएका छन् । यद्यपि टोलीको कप्तान रही सम्पूर्ण खेलाडीलाई एक सूत्रमा बाँध्न पारसले खेलेको भूमिका साँच्चै नै प्रसंशनीय छ । सन्न्यासपछि पनि उनी करोडौँ नेपालीका लागि प्रेरणाको स्रोत रही रहनेछन् । उनले देखेको सपना साकार पार्ने जिम्मा अब नयाँ युवाहरूको काँधमा आएको छ । सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूले इमानदारपूर्वक कर्ममा जोड दिने हो पारसले लिएको संकल्प पूरा हुने धेरै समय लाग्ने छैन ।





