स्तनपानसम्बन्धी सचेतना बढ्दो, अभ्यास भने खस्कँदो

भरतपुर, १९ श्रावण ।

हरेक वर्ष अगष्ट महिनाको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताहका रूपमा मनाउने गरिन्छ । यस पटक सो सप्ताह श्रावण १७ देखि २३ गतेसम्म परेको छ । नवजात शिशुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि आमाको दूध नै सर्वाेपरी हुन्छ भनी अन्तर्राष्ट्रिय रूपमा नै त्यससम्बन्धी सचेतना अभिवृद्धि गराउन सो अभियान थालिएको हो । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्तनपान सप्ताहलाई राष्ट्रिय कार्यक्रमकै रूपमा मनाउँदै आएको छ ।

विगतमा मानिसहरूमा स्तनपानसम्बन्धी पर्याप्त ज्ञान नहुँदा शिशुहरू आमाको दूध पिउनबाट वञ्चित हुने गरेका थिए । हालको समयसम्म आइपुग्दा मानिसहरूले स्तनपान अत्यावश्यक रहेछ भन्ने कुरा विस्तारै मनन गर्न थालेका छन् । तर विभिन्न कारण हाल स्तनपानको अभ्यास गर्ने क्रम भने घट्दै गएको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका विज्ञ बताउँछन् ।

“पहिलेको कुरा गर्ने हो भने त्यति बेलाका मान्छेलाई स्तनपानको महत्त्वका बारेमा खासै जानकारी नै थिएन । स्तनपान त गराउँथे, तर स्तनपान किन गर्ने भन्ने बारेमा सबैलाई चेतना भइसकेको स्थिति थिएन”, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले भने, “अहिले स्तनपानको महत्त्व अधिकांशले बुझ्न थालेका छन् ।” स्तनपानका बारेमा जनचेतनामूलक कार्यक्रम पनि नियमित रूपमा सञ्चालन गर्ने गरेको उनले बताए । यद्यपि स्तनपानको महत्त्व बुझेपनि त्यसको अभ्यासमा भने कमी आउन थालेको उनको भनाइ थियो ।

“अहिलेका मानिसको जीवनशैली फेरिएको छ । अध्ययन तथा रोजगारीलाई साथसाथै निरन्तरता दिइरहेका आमाहरूको संख्या पनि बढ्दो छ”, तिवारीले थप्दै भने, “सबैको आआफ्नै कार्यव्यस्तता हुने हुँदा नवजात शिशुलाई स्तनपानको विकल्पमा कृत्रिम दूध खुवाउने चलन सुरु हुन थालेको छ ।” कतिपय अवस्थामा आमाको पेटमा भएको बच्चालाई शल्यक्रियाका मध्यमबाट निकाल्नुपर्ने भएकाले आमाले तत्कालै स्तनपान गराउन नसक्ने अवस्था हुनसक्ने पनि उनले सुनाए ।

“एक समय त स्तनपान किन गराउनुप¥यो भन्ने खालका पनि तर्क राखिन्थे”, तिवारीले अगाडि भने, “अचेल स्तनपान अपरिहार्य नै रहेछ भन्ने बुझ्न थालेका छन् । आमालाई स्तनपान गराउन सहज होओस् भनेर अचेल त अधिकांश सरकारी कार्यालयमा स्तनपान कक्ष पनि बनाइएका छन् ।”

शिशु छ महिनाको नहुञ्जेलसम्म उसलाई दूध बाहेक केही पनि खुवाउनु नपर्ने चिकित्सकहरू बताउँछन् । नवजात शिशुको वृद्धि तथा विकासका लागि आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व आमाकै दूधबाट प्राप्त हुने हुन्छ । तैपनि विश्वका अधिकांश शिशु स्तनपानबाट अझै पनि वञ्चित रहने गरेको विभिन्न अध्ययन तथा अनुसन्धानले देखाउने गरेका छन् ।

सामान्यतया बच्चा जन्मिएको एक घण्टाभित्र नै उसलाई आमाको छातीमा टँसाएर स्तनपान गराउनुपर्ने भनिएको हुन्छ । तथापि विश्वमा हरेक दुई नवजात शिशुमध्ये एक जनाले मात्रै सो अवसर पाउने गरेको तथ्यांक संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफसँग छ ।

यस्तै नवजात शिशु छ महिनाको हुञ्जेल उसलाई दूध मात्रै खुवाए हुने र दूध बाहेक अरु केही पनि खुवाउन नपर्ने भनिएको हुन्छ । सो कार्यलाई इक्स्लुसिभ ब्रेष्टफिडिङ भनिन्छ । युनिसेफका अनुसार विश्वभर स्तनपान गर्ने उमेरका नवजात शिशुको करिब ४१ प्रतिशत जनसंख्याले मात्रै इक्स्लुसिभ ब्रेष्टफिडिङको मौका पाउने गरेको छ ।

युनिसेफले सन् २०१९ मा गरेको एक अनुसन्धानले (एनएमआइसीएस२०१९) नेपालमा ४१.७ प्रतिशत शिशुको जनसंख्याले मात्रै जन्मिएको १ घण्टामै स्तनपान सुरु गर्ने अवसर पाएको देखाएको छ । यस्तै देशभर ६२.१ प्रतिशत शिशुहरूले इक्स्लुसिभ ब्रेष्टफिडिङ गर्न पाउने गरेको तथ्यांक युनिसेफले प्रस्तुत गरेको थियो ।

पछिल्ला दशकहरूमा आमाको दूधलाई बिस्थापन गर्ने गरी डब्बा तथा पाउडर दूधको उपभोग गर्ने क्रम पनि बढ्न थालेको छ । यद्यपि आमाको दूध जस्तो पौष्टिक गुण पाउडर दूधमा नहुने चिकित्सकहरूले बताउने गरेका छन् । “शिशुलाई बट्टाको दूध खुवाउँदा ऊ अघाउन त अघाउला, तर जुन रोगप्रधिरोग क्षमता आमाको दूधबाट प्राप्त गरिन्छ, त्यो बट्टाको दूधबाट पाउन सकिँदैन”, निको बाल अस्पताल भरतपुरका बालरोग विशेषज्ञ डा. किशोर उप्रेतीले भने । स्तनपानले बच्चालाई मात्र नभएर आमालाई समेत फाइदा गर्ने उनको तर्क थियो ।

“स्तनपान गराउने महिलामा स्तन क्यान्सर देखिने जोखिम कम हुन्छ । यसले सौन्दर्यलाई कुनै असर गर्दैन, बरु फाइदा गर्छ । स्तनपानले आमा र बच्चाबीच घनिष्ठ सम्बन्ध पनि निर्माण गर्छ”, डा. उप्रेतीले अगाडि थपे । सुत्केरी आमा कामकाजी भएको खण्डमा आमाले आफ्नो दूधलाई भाडामा राखेर पनि खुवाउन सकिने उनले सुनाए । “आमाले आफ्नो दूध दुहेर त्यसलाई सफा भाडामा राखेर पायक परेको बेला शिशुलाई खुवाउन पछि मिल्छ । तर दुहेर भाडामा राखिएको दूध ६ देखि ९ घण्टासम्ममा बच्चालाई खुवाइसक्नुपर्छ”, उनले सुनाए । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा काम गर्ने महिलाले ९८ दिनसम्मको सुत्केरी बिदा बस्न मिल्ने व्यवस्था भएकाले सकेसम्म बच्चालाई आमाकै दूध चुसाउनुपर्नेमा जोड दिए ।

सन् २०१८ को जनवरीमा विद्यार्थीद्वय सबिना दुवाडी र हरि प्रसाद उपाध्यायले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय तथ्यांक विभागलाई बुझाएको अनुसन्धानमूलक लेखमा पनि कामकाजी महिलाले शिशुलाई कम स्तनपान गराउने गरेको तथ्य उल्लेख गरिएको छ । दुवाडी र उपाध्यायले चितवन जिल्लाको भरतपुर र टाँडी (रत्ननगर) क्षेत्रमा रहेका सुत्केरी जागिरे तथा सुत्केरी गृहिणी महिलाहरूबीचको स्तनपान गराउने अभ्यासका बारेमा तुलनात्मक अध्ययन गरेका थिए । सो अध्ययनले ८१.४ प्रतिशत सुत्केरी गृहिणी तथा ६७.१० प्रतिशत सुत्केरी जागिरे महिलाले मात्रै शिशुलाई पूर्ण स्तनपान (इक्स्लुसिभ ब्रेष्टफिडिङ) गराउने गरेको तथ्य प्रस्तुत गरेको थियो ।

हाल कोरोना भाइरस महामारीका कारण समेत स्तनपान गराउने कि नगराउने भन्ने विषयमा आमाहरूमा अन्यौलता रहेको बताउँदै डा. उप्रेतीले जनस्वास्थ्यका मापदण्डको पालना गरेर स्तनपान गराउन सकिने बताए । “स्तनपान गराउने आमाले मास्क अनिवार्य लगाउनुपर्छ । स्तनपान गराउनुअघि सुत्केरीले हात पनि धुनुपर्छ । जनस्वास्थ्यको मापदण्ड पालना गरेर स्तनपान गराउन सकिन्छ”, डा. उप्रेतीले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट