भरतपुर, १८ साउन ।
अष्ट्रेलियाको सिड्नीमा सर्वसाधारणले लकडाउनलाई वेवास्ता गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सरकारले सोमबारबाट सेना परिचालन गरेको छ । संक्रमण तीव्र गतिमा फैलिरहेपनि सर्वसाधारणले हेलचेक्राइँ गरेको भन्दै सम्भावित थप जोखिमलाई ध्यानमा राखेर सेना परिचालन गरिएको बताइएको छ ।
गत महिना सिड्नीका विभिन्न स्थानमा स्थानीयले लकडाउनको विरोधमा र्याली नै निकालेका थिए । सो र्यालीमा हजारौँको सहभागिता रहेको थियो ।
सिड्नीका विभिन्न ८ स्थानलाई प्राथमिकतामा राखेर सेनाका ३०० जना भन्दा बढीको टोली खटाइएको स्काई न्यूजले उल्लेख गरेको छ । स्थानीय प्रशासनका अनुसार सोमबारबाट कम्तीमा पनि ६ साता सेनाले लकडाउन र अन्य स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न गराउन सहयोग गर्नेछ ।
यसअघि नै सिड्नीमा अगष्ट २८ सम्म लकडाउन लम्ब्याइएको छ । त्यहाँ सोमबार मात्रै २०७ जना संक्रमित थपिएका छन् ।





