भरतपुर, १८ साउन ।
जनप्रतिनिधिबाटै कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार भएको घटनाप्रति स्वास्थ्य कार्यालय चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत गत शुक्रबार कार्यालय परिसरमा खोप सेसन चलिरहेका बेला भरतपुर महानगरपालिका वडा नं १० का अध्यक्ष तथा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी र कार्यालयका कर्मचारी अमृत महर्जनबीच भनाभन भएको थियो । भनाभन हुँदा खिचिएको भिडियो फुटेज सोही दिन साँझ सामाजिक सञ्जालमा भाइरल हुन पुगेको थियो ।
कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिबाटै कर्मचारीमाथि भएको दुव्र्यवहार हुनु निन्दनीय भएको बताएको छ । यो महामारीमा आफ्नो र आफ्नो परिवारको जीवनलाई समेत धरापमा राखेर अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको योगदानलाई कदर गर्दै अनुकरणीय कार्यको प्रशंसा एवं सहयोग गर्नुको साटो धम्क्याउने र गालीगलौज गर्नु सर्वथा निन्दनीय कार्य हो, विज्ञप्तिमा भनिएको छ । महामारीको नियन्त्रण तथा उपचारका भरपर्दा सारथि नै स्वास्थ्यकर्मी र कर्मचारी भएकाले तिनको मनोबललाई उच्च पार्न र काम गर्न सुरक्षित वातावरणको सृजना गरिदिन पनि कार्यालयले सबैसँग अपील गरेको छ ।
महानगरपालिकाका प्रवक्ताले भने खोपको सहज वितरण नभएको गुनासो आएपछि खोप केन्द्रमा अनुगमनका लागि पुगेको बताएका छन् । अनुगमनकै क्रममा कर्मचारीले आफूसँग दुर्व्यवहार गरेको उनको आरोप रहेको छ ।





