वडा कार्यालयमा लगाइएको ताला खुल्यो

भरतपुर, १८ साउन ।

भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा लगाइएको ताला स्थानीय आफैँले खोलेका छन् । शहीद चोक-धर्मचोक-कचपचे चोक सडक खण्डको मर्मतको काम समयमा पूरा गर्न नसकेको भन्दै स्थानीयहरूले सोमबार बिहान कार्यालयको ढोकामा ताला लगाएका थिए । बिहान करिब १० बजे लगाइएको ताला दिउँसो १ बजेतिर खोलिएको हो ।

सडकको काम पूरा गरिसक्नुपर्ने समयसीमाभित्र मर्मतको काम नसकिएको र सडक गुणस्तरीय हुनुपर्ने माग राख्दै सडकका स्थानीय उपभोक्ताले कार्यालयमा ताला लगाएका थिए । सडकको मर्मतको काम चाँडो सक्न ठेकेदार कम्पनीलाई दबाव दिने सहमति भएसँगै ताला खोलिएको वडाध्यक्ष हरि प्रसाद आचार्यले बताए । सडक आयोजनाको सम्बन्धमा भरतपुर महानगर प्रमुख तथा शहरी विकास तथा भवन निर्माण

विभाग डिभिजनलाई समेत पत्राचार गरेको वडाध्यक्ष आचार्यले बताए । शहरी विकास तथा भवन डिभिजन आयोजनाको परामर्शदाता संस्था हो भने हेटौँडाको रमन शिवशक्ति जेभी ठेकेदार कम्पनी हो ।

शहरी विकास मन्त्रालयको सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्यको प्याकेज नं २ मा शहीद चोक धर्मचोक कचपचे सडक खण्डको मर्मत पनि राखिएको थियो । सो सडक खण्डसँगै सम्पूर्ण प्याकेजको काम २०७७ असार मसान्तसम्म सक्ने सम्झौता भएको भएपनि ठेकेदारको ढिलासुस्ती तथा कोरोना भाइरस महामारीको कारण आयोजना पूरा हुन नसकेको बताउने गरिएको छ । सो प्याकेजको काम ६८ करोड २३ लाख १५ हजार रुपैयाँमा सक्ने गरी ठेकेदार कम्पनीसँग २०७५ असार २६ गते सम्झौता गरिएको थियो । शहीद चोक-धर्मचोक-कचपचे चोक सडक खण्डको मर्मत कार्यका लागि पटकपटक म्याद थप गरिएपनि सोचेअनुसारको प्रगति हुन नसक्दा स्थानीयले दिक्दारी महसूस गरेको बताउने गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट