भरतपुर, १८ साउन ।
कोभिडको दोस्रो लहरले गर्दा निषेधाज्ञा भएयता कामविहीन भएका सवारीचालक बिस्तारै लयमा फर्किरहेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै लामो तथा छोटो दूरीमा चल्ने साना तथा ठूला सवारीसाधन सडकमा बाक्लिएका छन् । निषेधाज्ञाका कारण थलिएका तीन पांग्रे अटो चालकहरूले चाँडै निषेधाज्ञा हटोस् भन्न थालेका छन् ।
मोहन लामा पेशाले अटो चालक हुन् । उनले पनि लामो समयपछि पुनः सडकमा अटो चलाउन थालेका छन् । स्थायी घर धनगढी भएका उनले पाँच वर्षदेखि चितवनमा अटो चलाउँदै आएका छन् । लामो समयसम्म वैदेशिक रोजगारीको सिलसिलामा कतार, मलेसिया पुगेका उनी नेपालमै बसेर केही गर्ने उद्देश्यले नेपाल फर्किए । विदेशबाट फर्केपछि लामालाई के काम गर्ने त भन्ने अन्यौलबीच अटो चलाउने सोच आयो । उनी परिवारसहित चितवन आए । चितवनमा किस्तामा उनले अटो लिए, चलाउन थाले ।

उनले मासिक ३० देखि ४० हजारसम्म कमाइ गर्ने गरेको सुनाए । दुई वर्षभित्रै अटोको सबै किस्ता चुक्ता गरिसकेको बताउने लामा अटो कुदाएर नै घर खर्च र बच्चाहरूको पढाइ खर्च जुटाइरहेका छन् । भरतपुरदेखि पदमपुरसम्मको रुटमा अटो चलाउँदै आएका लामा आफ्नो पेशाप्रति सन्तुष्ट छन् । “भनेजस्तो काम पनि पाइँदैन, के गर्नेगर्ने हुन्थ्यो, अहिले अटो चलाउन थालेपछि सन्तुष्ट नै छु” उनले भने, “रोजगारी नपाएपछि अटो चलाउन थालेको हुँ ।”
कोभिड रोकथाम निमित्त लकडाउन हुँदा लामाले अटो चलाउन पाएनन् । नियमित आम्दानीको स्रोत नै रोकियो । उनी भन्छन्, “लकडाउनले भने निकै अफ्ठेरो पारेको थियो । त्यतिबेला नियमित कमाइको बाटो नै रोकियो । घर चलाउने अभिभारा आफूमाथि हुँदा चिन्ता थपियो ।”

भरतपुर-११ का अर्जुन पुडासैनीको पनि चिन्ता उस्तै छ । पाँच वर्षदेखि अटो चलाउँदै आएका अर्जुन पनि कोरोना महामारीका कारणले अहिले अन्यौलमा छन् । कोभिड कहर आउनुभन्दा पहिला अटो चलाउँदा राम्रो कमाइ गर्न सकिने देखेपछि हुँदाखाँदाको ढुवानीको काम छोडेर उनले अटो चलाउन थालेका थिए । विदेश जान हुन्न, देशमै बसेर कमाउन सकिन्छ भन्ने मान्यता राख्ने अर्जुन कोभिडले सृजित परिस्थितिले अन्यौलमा परेको बताउँछन् ।
“दुई वर्षअघिसम्म विदेश जानुहुन्न भनी सबैलाई भन्थेँ । तर अहिले आफै के गरुँ भएको छ” उनले अन्यौलता व्यक्त गरे । पहिलो कोभिडको लहर सेलाएपछि लकडाउन खुल्दा सबै ठीक हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले निषेधाज्ञा हुँदा पेशा नै धरापमा परेको अर्जुनले बताए । “निषेधाज्ञा खुलेपछि बिस्तारै सबै ठीक हुँदै थियो । अब फेरि कोरोनाले घरमै थन्काउने हो कि ?” उनले निराशा पोखे ।

रत्ननगर बकुलहरका कृष्णमणि दवाडीको पनि अर्जुनको जस्तै चिन्ता छ । लामो समय वैदेशिक रोजगारीको लागि कतार बसेर फर्केका उनले पनि पाँच वर्षदेखि अटो चलाउँदै आएका छन् । विदेश नफर्कने निर्णय गरेर फर्केका दवाडीले अटो चलाएरै गुजारा गर्दै आएका छन् । परिस्थिति सबै सामान्य भए देशमै बसेर केही गर्ने सोच बोकेका दवाडी भन्छन्, “विदेशबाट फर्केर अटो किनेँ । फेरि विदेश फर्कने चाहना छैन । परिस्थिति ठिकै भए त गुजारा यहीँबाट गर्न सकिन्छ ।” दवाडीको गुनासो सरकारसँग पनि छ । “युवा जनशक्तिलाई देशमै सीप सिकाएर स्वरोजगार बनाए विदेश जानुपर्ने बाध्यता हट्थ्यो कि ?” उनी सरकारतिर प्रश्नवाचक अपेक्षा तेर्साउँछन् ।
२४ वर्षीय राज गुरुङको सपना भारतीय सेनामा भर्ती हुने थियो । तर पटकपटक प्रयास गर्दा पनि आर्मीमा छनोट हुन नसकेका उनी विदेशमा रोजगारका लागि जाने प्रयासमा पनि असफल भए । अहिले उनको स्वरोजगारको उपयुक्त विकल्प ‘अटो’ भएको छ । उनले अटोबाटै मासिक ४० हजारसम्म कमाउँछन् । उनी भन्छन्, “बजारमा जागिर गर्न गएपनि १५ हजारभन्दा बढी पाइँदैन । परिस्थिति सबै पहिला जस्तै सहज भए अटोमै राम्रो कमाइ छ ।”
स्वरोजगारको उत्तम विकल्प
थोरै पुँजीमा स्वरोजगर बन्न सकिने पेसा हो अटो चालक । चितवनसहित मुलुकभर अहिले अटो कुदिरहेका छन् । चितवनमा अहिले लगभग तीन हजार वटा अटो चल्ने गरेको अनुमान छ । केही लाख खर्च गरेर विदेश जान खोज्नेहरू र केही वर्ष विदेश बसेर फर्केकाहरूले देशमै केही गरौं न भनेर अटो किनेर चलाउने गरेका छन् । भरतपुरस्थित अटो बिक्रेता अनुसी ट्रेडर्सका सञ्चालक होमनाथ पौडेलका अनुसार सामन बोक्ने कार्गो अटो र यात्रुवाहक अटो गरी चितवनका सडकमा अहिले तीन हजार जति अटो चल्छन् ।
अनुसी ट्रेडर्सले विशेषगरी नेपालमै स्वरोजगार बन्न चाहनेलाई लक्षित गरि अटोको बिक्री गरिरहेको छ । यात्रुवाहक र कार्गो अटो गरि दुई खालका अटो सडकमा गुडिरहेका छन् । बजाज कम्पनीका कार्गो र यात्रुवाहक अटो ६ लाख ४५ हजारदेखि ६ लाख ७५ हजार रुपैयाँमा बिक्री भइरहेका छन् । “शून्य व्याजदरमा दुई वर्ष अवधिको किस्ताबन्दीमा हामीले ग्राहकलाई अटो उपलब्ध गराएका छौं”, सञ्चालक पौडेलले भने, “उक्त सुविधामा फ्री सर्भिस र सामसुङको स्मार्ट मोबाईल उपहार पनि थपेका छौं ।” शहर बजारदेखि भर्खरै बाटो खुलेका ग्रामीण भेकमा सजिलोसँग आवतजावत गर्न र मालसामान ढुवानी गर्न अटोको विकल्प नभएको पौडेलको ठम्याइ छ ।





