काठमाडौँ १८ साउन ।
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम टुंग्याउने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा यसअघि माओवादीका तर्फबाट दुई जना मन्त्री भइसकेका छन् । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डाका सम्बन्धमा निर्णय गरिनसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
यसअघि सत्ता पक्षीय गठबन्धनले माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरेको थियो । देउवा तथा प्रचण्डले नेता नेपालसँग पटक(पटक भेट गरेका थिए ।
तर आइतबार बसेको स्थायी कमिटीमा भने प्रचण्डले नेपाल सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए । स्थायी कमिटीमा प्रचण्डले गठबन्धनमा रहेका नेपाल पार्टीमै फर्किने बताए ।
‘परिस्थिति अहिले अलिकति फेरिएको छ । माधवजी एमालेमै फर्किने सम्भावना बढेको छ । यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीसँग छलफल गर्नुपर्ने भयो,’ आइतबारको स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ थियो ।





