पढाईसँगै आयआर्जन गर्दै विद्यार्थी

भरतपुर, १७ साउन
विद्यार्थीलाई प्रयोगात्मक शिक्षा अन्तर्गत चितवनको एउटा सामुदायिक विद्यालयले विद्यार्थीहरूलाई आयआर्जन हुनेगरी अध्यापन सुरु गरेको छ । भरतपुर महानगरपालिका–२० मा रहेको भीमनगर माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ बाली विज्ञान विषय पढ्ने विद्यार्थीका लागि स्कुलमै कृषि उपज उत्पादन गर्दै आयआर्जनको व्यवस्था सहितको शिक्षा सुरु गरेको हो ।

विद्यार्थीलाई आयआर्जनमै सहभागी गराउने गरी विद्यालयले सञ्चालन गरेको अभियानलाई ‘सिक्दै सिकाउँदै’ नाम दिइएको विद्यालयका प्रध्यानाध्यापक कोमलनाथ घिमिरेले बताए । ‘बाली विज्ञानतर्फ पढ्ने विद्यार्थीले कक्षा ९ देखि नै समूह बनाएर तरकारी तथा फलफूल उत्पादनमा लाग्छन्’, प्रअ घिमिरेले भने, ‘यो कार्यले एकातर्फ विद्यार्थीलाई विद्यालयले प्रोत्साहनस्वरूप केही रकम दिन्छ । अर्कातर्फ उनीहरूले उत्पादन गरेका फलफूल तथा तरकारी पनि आफैँ बिक्री गरेर आम्दानी गर्न सक्छन् ।’

यो अभियानका लागि विद्यालयलाई भरतपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ अनुदान सहयोग पनि दिएको छ ।
भीमनगर माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थी केवल अर्याल विद्यालयले सञ्चालन गरेको सो अभियानले विद्यार्थीमा पकेट खर्चको व्यवस्था भएको बताउँछन् । ‘हामीले पढ्दै गर्दा प्रयोगात्मक कक्षामै व्यावसायिक सीप सिक्नु जरुरी छ, जुन हामीले गरिरहेका छौँ’, उनले भने, ‘प्रयोगात्मक कक्षाले हामीलाई विद्यालय छाड्दै गर्दा एउटा कृषि प्राविधिकसमेत बन्न सहयोग गर्नेछ ।’
विद्यालयले सञ्चालन गरेको सिक्दै सिकाउँदै अभियानले त कतिपय साथीलाई कलमकापी किन्ने पैसाको स्रोत बनेको पनि उनले बताए ।

२०७४ सालबाट बाली विज्ञान विषय पढाउन लागेको यो विद्यालयले आफ्नो स्वामित्वमा रहेको चार बिघा क्षेत्रफलमध्ये दुई बिघा क्षेत्रफल जग्गा विद्यार्थीका लागि कृषि उत्पादनमै प्रयोग गरेको छ । विद्यालयले अहिले टनेलमा टमाटर, सिमीजस्ता तरकारीलाई बेमौसमी उत्पादन गर्ने कार्य सुरु गरेको छ । काउली, टमाटर, च्याउलगायतका कृषि उपज पनि अहिले उत्पादन सुरु भइसकेको छ ।

नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा बाली विज्ञान कक्षा ९ देखि सुरु हुन्छ । पाँच सयभन्दा बढी विद्यार्थी रहेको यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या १ सय छ । यो विद्यालयले कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्रमा पनि अध्यापन गराइरहेको छ । विशेष त बाली विज्ञानका विद्यार्थीलाई नै ध्यानमा दिएर विद्यालयले आधुनिक कृषि प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट