डेढ वर्षमै `कुमाता´को तेस्रो संस्करण

भरतपुर, १७ साउन ।
पत्रकार वसन्त पराजुलीलाई दुई सालअघिसम्म पनि लागेकै थिएन कि आफू कथाकार बनूँला । दुई दशक लामो पत्रकारिता गर्दा उनले कैयौँ मान्छेका कथा लेखे । तर, समाचारका रूपमा । २०७६ फागुनमा भने उनले तिनै कथाहरूका विषयवस्तुलाई नै माझेर कथानक दिए । कथा लेखे । सङ्ग्रह बनाए । अनि पहिलो कथा सङ्ग्रह निस्कियो– ‘कुमाता’ ।

रहरै रहरमा निकालिएको यो कथाको तेस्रो संस्करण अहिले बजारमा छ । “पहिलो किताब रहरमै निकालेँ”, नयाँ आवरणसहित तेस्रो संस्करण आएको जानकारी गराउन आइतबार सम्पूर्ण किताब नारायणगढमा आयोजित कार्यक्रममा उनले भने, “डेढ वर्षमै तेस्रो संस्करण निकाल्न सकेँ, म निकै गौरवान्वित छु ।”

भुँडीपुराण प्रकाशनले छापेको यो किताबमा ११ कथा छन् । पहिलो र दोस्रो संस्करणमा एउटै आवरण थियो । अहिले फेरिएको छ । कथाका साजसज्जामा केही परिवर्तन गरिएका छन् । पछिल्ला भागमा हालसम्म विभिन्न समीक्षकले गरेका टिप्पणीअंश सङ्ग्रहित छन् भने लेखकका भावना पनि समेटिएको छ ।
तर, तेस्रो संस्करणसम्म आइपुग्दा पनि कतिपय त्रुटि नसच्चिएकोमा कार्यक्रममा उपस्थित व्यक्तिहरू दिक्दारिए । “संस्करण नयाँ आएपछि पुराना गल्ती सच्चिनुपर्थ्यो”, लेखक निर्दोष जीवनले भने, “पाठकले भेटाएका त्रुटि पनि उस्तै छापिएर आए ।” तैपनि यति छोटो समयमा कुनै पनि चितवने लेखकको कृति तेस्रो संस्करणमा छापिनुलाई भने उनीहरूले ठूलो उपलब्धि ठाने ।

“यति छोटो अवधिमै यति धेरै संस्करण आउनु उल्का हो”, एकान्तवासका लेखक विनोदबाबु रिजालले भने, “यो हाम्रा लागि पनि प्रेरणा हो ।”
समीक्षक डा. एकनारायण पौडेलले कुमातामा गम्भीर विषयवस्तु समेटिएको भन्दै पराजुलीभित्र गतिलो लेखक रहेको बताए । अर्का समीक्षक उदय अधिकारीले विषयवस्तुका दृष्टिकोण कुमाता राम्रो सङ्ग्रह भएपनि निकाल्दा भने हतारिएको गुनासो गरे ।

उपन्यास मोसोका लेखक सूर्यप्रकाश कँडेलले तेस्रो संस्करणमा केही त्रुटि सच्चिएर आएपनि भाषागत त्रुटि अझै भेटिएको बताए । कान्तिपुर दैनिकका चितवन संवाददाता रमेशकुमार पौडेलले पनि प्रस्तुतिकरणमा अलि सुधार गर्नुपर्ने बताए । “हामी पत्रकारहरूसँग रङ र ब्रस जत्ति पनि छन्”, पत्रकारसँग साहित्यका बग्रेल्ती विषय हुने तर सही ढंगले प्रस्तुत गर्न नसक्ने समस्यालाई संकेत गर्दै पौडेलले भने, “तर, रङ र ब्रस प्रयोग गरेर सुन्दर चित्र बनाउन पारङ्गत छैनौँ ।”

अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पराजुली अनुमान गरेभन्दा निकै सफल ढंगले साहित्यमा चम्किएको टिप्पणी गरे । लेखक मीनराज वसन्तले केही समय लिएर भए पनि सिर्जना भने उत्कृष्ट दिनुपर्नेमा जोड दिए ।

सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले छोटो समयमै धेरै प्रति बिक्नु पनि किताबको उत्कृष्टता भएको टिप्पणी गरे । पुस्तकको मूल्य २०० रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट