भरतपुर, १७ साउन ।
नेपालगन्ज–पोखरा नियमित उडान सेवा सुरु भएको छ ।
नाटा बाँकेले गत ७ फागुनदेखि सीता एयरको चार्टर्ड विमानबाट हप्तामा दुई दिन उडान भर्दै आएकोमा बुद्ध एयरले आइतबारबाट हप्ताको तीन दिन नियमित उडान भर्न सुरु गरेको हो ।
बुद्ध एयर नेपालगन्ज स्टेशन प्रबन्धक विनित शाहका अनुसार पहिलो चरणमा हरेक आइतबार, बुधबार र शुक्रबार १८ सीट क्षमताका जहाजबाट उडान सञ्चालन हुने तालिका बनाइएको छ । कोरोनाको महामारीमा कमी आएर सीमा नाका सहज बनेर यात्रुको चाप बढ्दै गएमा ठूला जहाजबाट दैनिक उडान संख्या थप्ने योजना रहेको प्रबन्धक साहले बताए ।
विश्वका विभिन्न देशबाट पोखरा आएका पर्यटक सिधै बाँके बर्दिया घुम्न आउने भएकोले यहाँको पर्यटन क्षेत्रको विकास हुने नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
पर्यटन प्रबर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज–पोखराउडान सञ्चालनमा आएसँगै कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र फस्टाउने आशा पलाएको बताए ।नेपालगन्ज–पोखरा उडान सञ्चालनमा आएसँगै पश्चिम क्षेत्रका आन्तरिक पर्यटकका साथै खासगरी भारतीय पर्यटकहरु भित्रिन सहज हुनेछ । यसले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





