सिकाइ सहजीकरणमा अनलाइन कक्षा भएन प्रभावकारी

भरतपुर, १४ साउन ।

कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । चितवन जिल्लामा पनि गत वैशाख १६ गते मध्यरातदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यद्यपि सरकारले महामारीको जोखिमयुक्त भनी वर्गीकरण गरेको जिल्लामा चितवन समेत परेपछि यहाँका विद्यालय तथा शैक्षिक संस्थाहरू वैशाख ७ गतेदेखि नै बन्द गरिएका थिए ।

विद्यालय जान नपाएका विद्यार्थीहरूले करिब तीन महिनादेखि अनलाइन कक्षाको भरमा जेनतेन पढाइलाई निरन्तरता दिइरहेका छन् । त्यही अनलाइन कक्षाले पनि कतिपय अवस्थामा सिकाइमा सहजीकरण गरेको पाइँदैन । जसकारण उनीहरूमा पढाइप्रतिको रुची खस्कँदै जाने सम्भावना बढेको छ ।

भौतिक रूपमा कक्षाकोठामा हुने जस्तो विद्यार्थीको उपस्थिति अनलाइन कक्षामा नहुने गरेको शिक्षकहरूले बताउने गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीहरूसँग अनलाइन कक्षाका लागि आवश्यक पर्ने उपकरण तथा साधन नहुँदा कक्षा सञ्चालनमा समस्या हुने गरेको छ । भरतपुर १४, फूलबारीस्थित गौतम नि.मा.वि.का प्रधानाध्यापक रामचन्द्र चालिसे अनलाइन कक्षामा विद्यार्थीहरूको उपस्थिति सोचेअनुसारको नहुने गरेको बताउँछन् ।

“भौतिक उपस्थितिमा पढाएजस्तो अनलाइनमा नहुने रहेछ । अनलाइन केही प्रभावकारी भएपनि सबैको पहुँचमा रहेको भने पाएनौं”, चालिसले भने । गौतम नि.मा.वि.मा हाल दुई चरणमा अनलाइन कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । बिहान ७ देखि ११ः५० बजेसम्मको समयमा कक्षा ६,७ र ८ तथा बिहान १० देखि दिउँसो २ः५० बजेसम्मको समयमा कक्षा १ देखि ५ सम्मको अनलाइन कक्षा सञ्चालन गर्दै आएको उनले बताए ।

“माथिल्लो कक्षाहरूमा जसोतसो विद्यार्थीको उपस्थिति ५०–६० प्रतिशत छ । तल्ला कक्षमा भने त्यो भन्दा पनि न्यून उपस्थिति हुने गरेको छ”, उनले थप्दै भने, “कतिपय विद्यार्थीहरू निम्नवर्गीय पारिवारिक पृष्ठभूमिका हुने भएकाले उनीहरू सबैसँग मोबाइल फोन र इन्टरनेटको सुविधा पनि हुँदैन ।”

अनलाइन कक्षामा उपस्थित हुन एउटा विद्यार्थीसँग इन्टरनेट चल्ने खालको स्मार्टफोन हुन जरुरी हुन्छ । नेपाली बजारमा एउटा सामान्य नयाँ स्मार्टफोनलाई कम्तीमा पनि ८ देखि १० हजार रुपैयाँसम्म पर्न आउँछ । जुम लगायत भिडियो कलिङ एप चलाउन उच्च गतिको इन्टरनेट आवश्यक पर्ने हुन्छ । त्यसका लागि वाइफाइ वा मोबाइल डाटा के प्रयोग गर्ने हो, त्यो प्रयोगकर्तामा निहित हुन्छ । वाइफाइ प्रयोग गर्दा सेवाप्रदायकलाई मासिक रूपमा न्यूनतम एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसमा पहिलो पटक वाइफाइ जडान गर्दाको खर्च छुट्टै लाग्छ ।

वाइफाइको राउटरको किसिम, तारको लम्बाइ र इन्टरनेटको गतिका आधारमा जडान खर्च २ हजारदेखि ४ हजार रुपैयाँसम्म पर्न सक्छ । मोबाइल डाटाको माध्यमले कक्षामा उपस्थित हुने भने पनि सुरुमा कुनै एक सेवा प्रदायकबाट सिम कार्ड किन्नुपर्ने हुन्छ । त्यसपछि दैनिक वा साप्ताहिक अवधिका लागि निश्चित क्षमताको डाटा प्याक खरिद गर्नुपर्ने हुन्छ । डाटा क्षमताका आधारमा यस्ता प्याक न्यूनतम १८ देखि ८०० रुपैयाँसम्मका हुने गरेका छन् । यी सबै खर्च एकमुष्टमा जोड्ने हो भने एउटा सन्तानलाई अनलाइन कक्षामा उपस्थित गराउन अभिभावकको न्यूनतम व्यय १० हजार रुपैयाँभन्दा माथि नै पर्न आउँछ ।

अझ विद्यायल जाने उमेरका दुई वा सोभन्दा बढी सन्तान भएका अभिभावकले हरेकका लागि छुट्टै स्मार्टफोन किनिदिनुपर्ने हुनसक्छ । यस्तोमा ज्याला–मदजुरी गरेर जसोतसो जीविकोपार्जन गर्दै आएका अभिभावकले आफ्ना छोराछोरीलाई अनलाइन कक्षामा पढाउन त्यति ठूलो आर्थिक भार कसरी बोक्न सक्लान् ?

युवा मा.वि. भरतपुर २६, दिव्यनगरका प्रधानाध्यापक रामनाथ घिमिरे अनलाइनको पहुँचमा नरहेका विद्यार्थीको सिकाइ सहजीकरणका लागि उनीहरूकै घर पुग्ने गरेको बताउँछन् । “विद्यालयका करिब २५–३० प्रतिशत विद्याथीको घरमा इन्टरनेट र आवश्यक साधन छैनन् । उनीहरूको सिकाइ नटुटोस् भनेर शिक्षकहरूले विद्यार्थीको घर पुगेर गृहकार्य दिने गर्नुभएको छ”, घिमिरेले बताए । अनलाइन कक्षामा उपस्थित भएका विद्यार्थीहरू पनि पढाइलाई लिएर गम्भीर नहुने गरेको चिन्ता उनले व्यक्त गरे । “विद्यार्थीहरूले आखिर परीक्षा हुँदैन, किन पढ्नुपर्‍यो भनेर अनलाइन कक्षाप्रति रुची नदेखाउने पनि गर्न थालेका छन्”, उनले भने ।

पछिल्लो समय टेलिभिजन तथा रेडियोका दर्शक एवं श्रोता घट्न थालेकाले अनलाइन विधिबाट गरिने सिकाइ उपयुक्त हुनुपर्नेमा गौतम नि.मा.वि.का प्रधानाध्यापक चालिसेले जोड दिए । तर आनलाइन माध्यममा सबैको पहुँच नपुग्नु नै मुख्य समस्या भएको उनको भनाइ थियो । “टेलिभिजन र रेडियोबाट गरिने शिक्षण सिकाइमा विद्यार्थीले अन्तरक्रिया गर्न पाउँदैनन् । सबैको पहुँच सुनिश्चित गर्न सकिने हो भने आनलाइन कक्षा सिकाइको राम्रो विकल्प बन्न सक्थ्यो”, चालिसेले थपे ।

विद्यार्थी भन्छन् भौतिक उपस्थितिमा गरिने सिकाइ नै ठीक

भरतपुर महानगरपालिका वडा नं ४ मा परिवारसँग डेरा गरी बस्दै आएकी सुजता श्रेष्ठ असारयता अनलाइन कक्षाकै माध्यमबाट अध्ययन गरिरहेकी छिन् । ९ कक्षामा पढ्ने उनका भाइ ६ कक्षामा पढ्छन् भने दिदी १० कक्षामा पढ्छिन् । हाल सुजतासँगै उनका भाइ र दिदी पनि अनलाइन माध्यमबाटै पढ्दै आएका छन् ।

भाइको पढाइ बिहानको समयमा हुँदा आफू दुई दिदीबहिनीको पढाइ भने दिउँसोको समयमा हुने गरेको उनले सुनाइन् । त्यसका लागि घरमा दुई वटा छुट्टाछुट्टै मोबाइलको व्यवस्था गर्नुपरेको उनले बताइन् । अनलाइन कक्षामा पढाइ भइरहेको भएपनि विद्यालयको कक्षाकोठामा उपस्थित भएर पढेजस्तो मज्जा नआउने गरेको विचार उनले राखिन् ।

“स्कुलमा हुँदा साथीहरूसँग बोल्न, खेल्न पाइन्छ । रमाइलो हुन्छ । अनलाइनमा त्यस्तो रमाइलो लागेन”, उनले भनिन् । अनलाइन माध्यमबाट पढाइ हुँदा साथीसाथीबीच र अध्यापकहरूसँग भावनात्मक सम्बन्ध नहुने गरेको उनले बताइन् ।

ससाना कक्षामा अध्ययन गर्ने बालबालिकाले खेलेर, अभ्यास गरेर तथा क्रियाकलाप गरेर सिक्ने भएको हुँदा उनीहरूको लागि अनलाइन माध्यमबाट हुने पढाइ खासै प्रभावकारी हुँदैन । ससाना कक्षामा अध्ययन गर्ने बालबालिकाको हकमा भने अभिभावक समेतको संलग्नतामा उनीहरूलाई घरमै सिकाइ सहजीकरण गर्नुपर्ने देखिन्छ ।

अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको अवस्थामा शिक्षकहरूले विद्यार्थीको घरघरै पुगेर पुस्तिका वितरण गर्ने भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषिराम शर्माले बताए । कक्षा १ देखि ३ सम्ममा अध्ययन गर्ने विद्यार्थीका लागि पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रममा आधारित सिकाइ सहजीकरण पुस्तिका छापिएको शर्माले जानकारी दिए ।

“कतिपय ठाउँमा इन्टरनेट छैन । ससाना बालबालिकाका लागि अनलाइन उपयुक्त पनि नहुने भएपछि विद्यार्थीले घरै बसेर अध्ययन गर्न सहयोगी हुने पुस्तिका छापिएको छ”, शर्माले अगाडि भने, “सिकाइ सहजीकरण तथा स्वास्थ्य सामग्री खरिदका लागि महानगरका सबै सामुदायिक विद्यालयमा प्रति विद्यार्थी २०० रुपैयाँका दरले रकम निकासा गरिसकेका छौं ।” शैक्षिक क्षेत्रका लागि कोभिड–१९ लक्षित के–कस्तो राहतको कार्यक्रम ल्याउन सकिन्छ, त्यसबारेमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।

बिजुली नपुगेका ठाउँमा छैन अनलाइन कक्षा

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गा.पा.का विकट भेगतिर अझै पनि विद्युत आपूर्ति हुन सकेको छैन । लामो समयदेखि विद्यालयहरू बन्द रहँदा ती क्षेत्रमा बसोबास गर्ने बालबालिकाले शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट नै वञ्चित भइरहेका छन् । गाउँपालिकाको राजमार्ग क्षेत्रमा रहेका निजी विद्यालयहरूमा अनलाइन कक्षा चलाइएको भएपनि पहाडी भेगमा भने इन्टरनेट नै नपुग्दा सिकाइ सहजीकरणमा पनि समस्या आएको छ ।

“अनलाइन कक्षा चलेको छैन, गाउँमा संक्रमित पनि छैनन् भनेर कतिपय विद्यायलले भने कक्षाकोठामै अध्ययनअध्यापन थाल्यौं भनेर पनि भन्नुभएको छ”, गाउँपालिकाको शिक्षा शाखाकी प्रमुख दुर्गादेवी खड्काले बताइन्, “जनस्वास्थ्यका मापदण्ड पालना गरेर पुनः भौतिक उपस्थितिमै कक्षाहरू सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौं ।” विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्याका आधार जोर बिजोर कक्षा वा जोर बिजोर रोल नम्बरका आधारमा कक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा अध्ययन भइरहेको पनि उनले जानकारी दिइन् ।

“भौगोलिक अवस्था तथा पर्याप्त पूर्वाधारको अभावले पनि सबै विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन पाएका छैनन् । त्यस्तोमा जनस्वास्थ्यको मापदण्ड पालना गर्दै जोर बिजोर रोल नं वा जोर बिजोर कक्षाको नियम बनाएर विद्यालयमै अध्यापनलाई निरन्तरता दिन सकिन्छ कि भन्ने सोच बनाएका छौं”, खड्काले अगाडि भनिन्, “अनलाइन कक्षा नभएका ठाउँमा नेपाल टेलिकमको पाठशाला सीयुजी सिमको प्रयोग गरेर सिकाइ सहजीकरण गर्ने तयारी पनि भइरहेको छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ मा प्रस्तुत कार्यविधिअनुसार सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाइ सम्पर्क कायम गराउन सार्वजनिक विद्यालय, स्थानीय तह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विद्यार्थी र शिक्षकलाई मोबाइल सेवाको क्लेज्ड युजर ग्रुप (सीयुजी) मा आबद्ध गराउने योजना रहेको छ । सीयुजी कार्यक्रममा विद्यार्थीहरूलाई आबद्ध गराउनका लागि प्रति विद्यार्थी रु १२५ का दरले सबै विद्यालयमा रकम पठाइएको पनि खड्काले बताइन् ।

टेलिकमको सो कार्यक्रममा आबद्ध भएपछि प्रयोगकर्ताले निश्चित समयका लागि अनलिमिटेड कल, ८ जीबी डाटा, १०० वटा अन नेट एसएमएस, बल्क एसएमएस लगायतका सुविधा उपभोग गर्न पाउने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट