भरतपुर १४ साउन।
चितवनमा कोरोना संक्रमण रोकथामका लागि १० दिन निशेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आदेश जारी गर्दै निषेधाज्ञाको समय साउन २४ गतेसम्म लम्ब्याएको हो ।
यसअघि प्रशासनले पछिल्लो समयमा जारी गरेको निषेधाज्ञाको समयअवधी आज राति १२ बजे सकिदै छ ।
प्रशासनले जारी गरेको आदेशमा चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर तरिकाले चल्न पाउने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।
यस्तै आदेशमा क्याम्पसले लिने परीक्षा तथा कक्षा ११ तथा १२ परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५ भन्दा बढी परीक्षार्थी राख्न नपाइने, एउटा बेञ्चमा एक विद्यार्थी मात्रै राख्नुपर्ने, विद्यार्थीको भौतिक दूरी कायम गराउनुपर्ने, तथा कोभिड सङ्क्रमित विद्यार्थीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि मात्रै परीक्षामा सहभागी गराउनुपर्ने र ३० मिनेटपछि मात्रै परीक्षार्थीलाई कोठाबाट बाहिर निस्कन दिनुपर्ने उल्लेख गरिएको छ ।
चितवनमा गत वैशाख १६ गतेदेखि निशेधाज्ञा लागु गरिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार हाल कोरोनाका संक्रिय संक्रमितको संख्या दुई हजार तीस रहेको छ । संक्रिय सक्रमितको संख्या पाँच सय भन्दा कम नभएसम्म कोरोनाको जोखिम कायमै रहेको स्वास्थ्यकर्मिले जनाउँदै आउका छन् ।








