भारतमा कालो ढुसीका कारण ४ हजार बढीको मृत्यु, नेपालमा पनि सावधानी अपनाउनुपर्ने

भरतपुर, ७ साउन ।

भारतमा कालो ढुसी अर्थात् ब्ल्याक फंगसको संक्रमणबाट ४ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । खासगरी कोरोना संक्रमितमा देखिने कालो ढुसीबाट अहिलेसम्म भारतमा ४५ हजार ३ सय ७४ जना संक्रमित भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मनसुख माण्डवीयले जानकारी दिएका छन् ।

कालो ढुसीले नाक, आँखा र मस्तिष्कमा असर पुऱ्याउने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त भएको १२ देखि १८ दिनपछि कालो ढुसीको संक्रमण देखिने सम्भावना हुन्छ । स्टेरोइड नामक औषधि चलाइएका मधुमेहका रोगीमा कालो ढुसी बढी मात्रामा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार अहिले पनि भारतमा झन्डै २२ हजार कालो ढुसीका संक्रमितले उपचार गराइरहेका छन् । कालो ढुसीको संक्रमणबाट महाराष्ट्र र गुजरात सबैभन्दा बढी प्रभावित राज्य हुन् । यी दुई राज्यमा १ हजार ७८५ जनाको कालो ढुसीको संक्रमणबाट मृत्यु भएको छ।

कालो ढुसी के हो ?

कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी (म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण बिरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्‍याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षणमा अनुहार, मुख, नाक र आँखावरिपरि दुख्ने हुन्छ ।

त्यस्तै यसका कारण ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने पनि हुन्छ । आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने र दाँत दुख्ने वा हल्लिने पनि यसको लक्षण भएको मन्त्रालयले जनाएको छ ।

४५ देखि ६५ वर्ष उमेर समूह, मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटेक वा स्टेरोइड औषधि सेवन गरिरहेकामा कालो ढुसीको संक्रमण हुने उच्च जोखिम रहेको बताइएको छ ।

घरमा आइसोलेसनमा बस्दा यो कालो ढुसीबाट बच्न विभिन्न उपाय अपनाउन सकिने चिकित्सकहरूको सुझाव छ । कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने पनि चिकित्सकको भनाइ छ । कालो ढुसीबाट संक्रमित भएकाको उपचारमा एम्फोटेरिसिन–बी’ नामक औषधि प्रयोग गरिन्छ ।

संक्रमण रोकथामका लागि अपनाउनुपर्ने उपायहरू :

  • सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने,
  • नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने,
  • व्यक्तिगत स्वच्छतामा ध्यान दिने,
  • घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने,
  • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने,
  • नुनिलो पानीले नाक सफा गर्ने,
  • पोभिडिन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने,
  • जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने,
  • मधुमेहका बिरामीले सुगर लेभललाई नियन्त्रणमा राख्ने, र
  • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने ।
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट