भरतपुर, २८ जेठ ।
१६औँ संस्करणको युइएफए युरो कप आजबाट सुरु हुँदैछ । युरोप महादेशका विभिन्न ११ देशका ११ शहरमा आयोजना गरिने प्रतियोगिताको पहिलो खेलमा आज राति १२:४५ बजे इटाली र टर्की खेल्दैछन् । यी दुई टोलीले यसअघिका भेटमा केकस्तोे प्रदर्शन गरेका छन्, त्यसको छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
इटाली र टर्कीले एकअर्कासँग हालसम्म १० पटक खेलेका छन् । तीमध्ये ७ खेलमा इटाली विजयी भएको छ भने अन्य ३ खेल बराबरीमा टुंगिएका छन् । आज राति इटाली विरुद्धको खेलमा ११औँ पटक उत्रिरहँदा टर्की ऊ विरुद्ध पहिलो जीतको खोजीमा रहनेछ । यी दुई टोलीले अन्तर्राष्ट्रिय स्तरमा एकअर्का विरुद्ध खेलेका सुरुवाती ५ खेलमा इटालीले क्लिन सिट पाएको थियो । अर्थात् ती ५ खेलमा टर्कीले एक गोल पनि गर्न सकेको थिएन । जबकी टर्की विरुद्ध खेलिएका पछिल्ला ५ खेलमा भने इटालीले हरेकमा १ गोल खान पुगेको छ ।
यी दुई टोलीबीच खेलिएका पछिल्लो दुई खेल बराबरीमा टुंगिएका छन् । सन् २००२ र २००६ मा यी टोलीबीच खेलिएका दुई मैत्रीपूर्ण खेल बराबरीमा सकिएका थिए ।
युरो कपको इतिहासमा भने यी दुईको जम्मा एक पटक भेट भएको छ । सन् २००० को युरो कपमा इटालीले टर्कीमाथि २-१ गोलअन्तरको जीत हात पारेको थियो ।





