२४ घण्टामा थपिए २७०९ जना संक्रमित, ५२२५ जनालाई निको

भरतपुर, २८ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ७०९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएका ९ हजार ५९८ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, एन्टिजेन विधिबाट गरिएका ५ हजार ५८४ परीक्षणमध्ये १ हजार ४१ वटा नमूनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कूल ३१ लाख ९८ हजार ७०२ वटा पीसीआर परीक्षण भएका छन् । हालसम्म भएका एन्टिजन परीक्षणको संख्या भने ९६ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्षसम्मको उमेर समूहका ६२५ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४ हजार ३९६ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६७ जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ८ हजार ३०५ पुगेको छ ।

देशभर भाइरसका सक्रिय संक्रमितको संख्या भने ७५ हजार २७५ रहेको छ । हाल सक्रिय संक्रमितमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसनमा छन् भने बाँकी ५ हजार ५८९ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ५९४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३६६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या १ हजार १८९ रहेको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २४१ जनाले भेन्टिलेटरमा तथा ६८७ जना संक्रमित भने सघन उपचार कक्षमा छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ । यो कूल संक्रमितको करिब ८६ प्रतिशत हो ।

यस्तै, कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएकाको संख्या २३ लाख ३७ हजार ७९९ रहेको छ । तीमध्ये ६ लाख ९१ हजार ४९४ जनाले दोस्रो मात्राको समेत खोप पाइसकेका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९२१, ललितपुरमा १६३, भक्तपुरमा ५६ तथा चितवनमा ८३ जना नयाँ संक्रमित थपिएका छन् । वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा ५०, धादिङमा २२, नुवाकोटमा ११७, मकवानपुरमा ४९, सिन्धुपाल्चोकमा ३५ तथा दोलखामा १८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा चितवनका अन्य छिमेकी जिल्लाहरू पर्सामा ५, नवलपुरमा ५४, नवलपरासीमा १३, तनहुँमा २८ र गोरखामा ९ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश नं १ का झापा, मोरङ र सुनसरी जिल्लामा क्रमशः ३५, १५१ र ८४ जना संक्रमित थपिएका छन् । प्रदेश नं २ मा सबैभन्दा धेरै धनुषामा ४२ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कास्कीमा ११७ जना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीमा ५३ जना, कर्णाली प्रदेशको सुर्खेतमा ११६ जना र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा ७१ जना संक्रमित थपिएका छन् ।

हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न ४६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट