भरतपुर, १२ जेठ ।
नेपाली स्ट्याण्ड अप कमेडि विधामा उदाउँदै गरेका कमेडियन राजेश मिश्राले वीरगञ्जको नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पतालको लापरबाहीका कारण आफ्ना बुबाले ज्यान गुमाउनु परेको रोप लगाएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले दुई अस्पतालको लापरबाहीले बुबाको ज्यान गएको आरोप लगाएका हुन् । “मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार म नेसनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु । किनभने बाबालाई दुई हप्ताअघि डायलसिसका लागि लैजाँदा अक्सिजन सेचुरेसन ९० छ । तपाईंको डायलसिस यहाँ हुँदैन भनेर अस्पतालबाट निकालिदिएको हो”, अगाडि उनले भनेका छन्, “चार वर्ष मेरो बाबाले एनएमसीमा डायलाइसिस गराउनुभएको हो । डायलसिस बापत ३५ सय सरकारबाटै तिनीहरूले उठाएको हो । कमाउने बेला तिमीहरूले कमाउने । बिरामीलाई गाह्रो भएको बेला धपाइदिने । त्यहाँ मेसिन र डायलुजर केही पनि काम लाग्दा छैनन् ।”
एनएमसीको डायलसिस मेसिनलगायतको ठेक्का लिएको नेफ्रो प्लस नामक भारतीय कम्पनीले पैसा बचाउन धाँधली गरेको पनि उनले भिडियोमा आरोप लगाएका छन् । “गर्त वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा त्यहाँको डायलसिस बिरामीलाई एनएमसीमा सिफ्ट गरिएको थियो । एक महिनाभित्र पाँच जना बिरामी मरेका थिए, डायलुजर मेसिन नफेरेर । नेफ्रो प्लसले पैसा बचाउन अत्यन्तै धाँधली गरिरहेको छ”, उनले मलिन हुँदै भने, “एनएमसी अस्पतालाई गत वर्ष केन्द्रबाट २० प्रतिशत बेड कोभिड संक्रमित बिरामीका लागि छुट्याइदिनु भनेर निर्देशन आएको थियो । तर, एनएमसीले ‘म केन्द्रको आदेश मान्दिनँ’ भन्यो । किनभने एनएमसीको फाउन्डर बसुरिद्धिन अन्सारी हो । अनि, बसुरिद्धिन अन्सारी लास्टै नै पावरफुल मान्छे हो । उहाँको गुन्डागर्दी अति नै धेरै चल्छ । उहाँलाई केरमेट गर्ने कोही पनि छैन । बसुरिद्धिन यति पावरफुल मान्छे हो कि गत वर्ष केपी ओलीको मृगौला प्रत्यारोपणमा जति पनि खर्च भएको हो, व्यक्तिगत रूपमा सबै बसुरिद्धिनले व्यहोरेको हो ।”
एनएमसीकी एक जना नर्सको लापरबाहीलाई पनि उनले भिडियोमा उल्लेख गरेका छन् । “एउटा मेसिन बिग्रिँदा त्यहाँ काम गर्ने नर्स दिदीले फोन गरेर भाइ दुवै मेसिन बिग्रियो भनेर अफवाह फैलाउने (उन)लाई कारबाही हुने कि नहुने ? भाइ, सूचना नै निकालिसक्यो । सूचना त आएकै थिएन”, उनी भन्छन्, “डाक्टरले ब्रेनमा युरिया पुगिसक्यो चार घण्टा डायलसिस गर्दिनु भन्दाखेरी डाक्टरको अगाडि चार घण्टाको समय सेट गर्ने अनि डाक्टर गइसकेपछि तीन घण्टा बनाइदिने त्यसलाई । दिदी हजुरलाई छिटो घर पुग्नु थियो होला । तर, कोही मान्छे घर पुगेनन्, तपाईंको एक घण्टाको हतारले गर्दा ।”
केही समय अघि आफ्ना बाबुलाई मृगौला प्रत्यारोपणका लागि उनकी सानी आमाले मृगौला दिन्छु भन्दा समेत अंगदाता भारतीय भएकै कारण मृगौला प्रत्यारोपण गर्न नदिइएको पनि मिश्राको गुनासो थियो ।





