६६७७ जना संक्रमित थपिए, ६७१६ जनालाई निको

भरतपुर, १२ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ६ सय ७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । गएको वैशाख १९ गतेयता पहिलो पटक नेपालमा ७ हजारभन्दा कम संक्रमित थपिएका हुन् । यस्तै एन्टिजेन विधिबाट गरिएका परीक्षणबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको कूल संख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको छ । यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय ४५ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाएकाको सूचीमा सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको संक्रमितको शवको संख्यालाई समेत अद्यावधिक गरिएको हो । सोसँगै नेपालमा कूल मृतकको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

भाइरसका सक्रिय संक्रमितको संख्या भने १ लाख १७ हजार ७७ रहेको छ । हाल सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६ सय २० जना होम आइसोलेसनमा छन् भने बाँकी ८ हजार ४ सय ५७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ८ सय ५३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १३९, रुपन्देहीमा ३४९ तथा चितवनमा ९९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, मन्त्रालयले भक्तपुरमा ११३, ललितपुरमा २४१, काभ्रेपलाञ्चोकमा १५७, कास्कीमा ५००, नवलपुरमा २, नवलपरासीमा ५३, गोरखामा २६६, धादिङमा ११९, तनहुँमा १४५ र मकवानपुरमा १०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य जिल्लाहरूमा झापामा २४९, मोरङमा २३१, सुनसरीमा २५५, पर्सामा २४, बारामा ३१, धनुषामा १०४, सर्लाहीमा ११६ र दाङमा ५६ जना संक्रमित थपिएका छन् ।

यस्तै, लमजुङमा १०७, पर्वतमा ३७, पाल्पामा ६९, बाँकेमा १९९, बर्दियामा १५५, गुल्मीमा ९४, सुर्खेतमा १२२, कैलालीमा ३१ र कञ्चनपुरमा ४५ जना संक्रमित थपिएका छन् । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न ५० जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल २९ लाख ७७ हजार ६ सय ५० वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा भने पीसीआर विधिबाट १९ हजार ३० परीक्षण भएका छन् । अन्य ३ सय २२ परीक्षण भने एन्टिजेन विधिबाट गरिएका हुन् । एन्टिजेन विधिको परीक्षण भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट हालसम्म गरिएका परीक्षणमध्ये १७.९८ प्रतिशत केस पोजिटिभ पाइएका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ । यो कूल संक्रमितको करिब ७७ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल देशभर ४ सय ३४ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने १ हजार ६ सय ७१ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २ सय ७९ जनाको भेण्टिलेटरमा तथा ८ सय ४५ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट