भरतपुर, १२ जेठ ।
पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा १३ जनाले ज्यान गुमाएका छन् । यस्तै थप एक संक्रमितको भने होम आइशोलेसनमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सोसँगै चितवनमा पछिल्लो २४ घण्टामा १४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अस्पतालमा ज्यान गुमाएकामध्ये ३ जना चितवनका हुन् । यस्तै, नवलपरासी, दाङ र मकवानपुरका २–२ जना संक्रमितले पनि उपचारका क्रममा अस्पतालमा ज्यान गुमाएका छन् । यस्तै बारा, रुपन्देही, कपिलवस्तु र महोत्तरीका एक–एक जना संक्रमितको पनि उपचारका क्रममा ज्यान गएको हो । होम आइशोलेसनमा मृत्यु भएका संक्रमित भने रत्ननगरका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ५, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ३ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना संक्रमितले ज्यान गुमाएका हुन् ।
स्वास्थ्य कार्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकका अनुसार हाल भरतपुर अस्पतालमा १२८, चितवन मेडिकल कलेजमा ११२, कलेज अफ मेडिकल साइन्सेसमा ८३ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ । पुष्पाञ्जली, नारायणी सामुदायिक र भरतपुर सेन्ट्रल अस्पतालमा पनि ३१ जना संक्रमितले उपचार गराइरहेका छन् ।
भरतपुर अस्पतालले कोभिड उपचारका लागि १९०, सीएमसी अस्पतालले २६०, सीएमएस अस्पतलाले २०० तथा क्यान्सर अस्पतालले १४२ वटा बेड छुट्याएका छन् । रत्ननगरको गुञ्जमान सिंह अस्पतलाले पनि कोभिड बिरामीका लागि १० वटा शय्या छुट्याएको छ ।
भरतपुर महानगरपालिकाले १५ बेड, रत्ननगरले २८ बेड, राप्तीले २० बेड र कालिकाले १२ बेडको आइशोलेसन सेन्टर सञ्चालन गरेका छन् । ती सबैमा शय्यामा अक्सिजनको पनि व्यवस्था गरिएको छ । यस्तै, माडीले ५ ओटा अक्सिजन सहित १० बेड क्षमताको आइशोलेसन सञ्चालनमा ल्याएको छ । खैरहनीले सञ्चालनमा ल्याएको १५ शय्याको आइशोलेसनमा ११ शय्यामा अक्सिजन समेत उपलब्ध गराइएको छ । यस्तै इच्छाकामना गाउँपालिकाले पनि १० वटा अक्सिजन सहितको २५ बेडको आइशोलेसन सेन्टर स्थापना गरेको छ । माडी नगरपालिकाले बघौडा अस्पताल, रत्ननगरले बकुल्हर अस्पताल तथा कालिका र राप्तीले भण्डारा अस्पतालमा आइशोलेसन निर्माण गरेका हुन् ।
हाल रत्ननगरको आइशोलेसनमा २, माडीमा ५, खैरहनीमा ३ तथा भरतपुरमा ८ जना संक्रमित राखिएका छन् । यस्तै, इच्छाकामनामा ५ तथा कालिकामा १ जना संक्रमित राखिएका छन् ।
जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा कोभिड संक्रमितको उपचारका लागि ९२७ वटा बेड छुट्याइएका छन् । ती मध्ये ४२३ बेड बिरामीले भरिएका छन् । हाल जिल्लाभर २१५ जना आइसीयु, ३९ जना एचडीयू तथा १६९ जना जेनरल बेडमा उपचाररत छन् । आइसीयुमा रहेकामध्ये ६० जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।





