भरतपुर, १२ जेठ ।
पछिल्लो २४ घण्टामा चितवनका थप २ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ सय ७५ जनामा पीसीआर तथा ३१ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । थपिएका संक्रमितसँगै चितवनका सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय २६ पुगेको छ । तीमध्ये १ सय ५८ जना अस्पतालको आइशोलेसनमा छन् भने ४ हजार ७ सय ५३ जना घरमै आइशोलेसनमा रहेका छन् । १५ जना संक्रमित स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।
कार्यालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआरका लागि ८ सय २४ जनाको स्वाब संकलन गरिएको थियो भने ७१ वटा एन्टिजेन टेष्ट भएका थिए । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भरतपुरका १ सय ४४ जनामा (१३८ पीसीआर, ६ एन्टिजेन) संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितसँगै चितवन जिल्लाका कूल संक्रमितको संख्या १३ हजार १ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका ८ हजार ० सय २९ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै, स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना संक्रमितको निधन भएको छ । सोसँगै जिल्लाभित्र संक्रमणका कारण मृत्यु वरण गर्नेको संख्या २ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा भरतपुरका ३ र रत्ननगरका १ जना संक्रमितले ज्यान गुमाएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सबैभन्दा बढी भरतपुर महानगरपालिकाका १३४ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यस्तै, रत्ननगर नगरपालिकाका २५ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका ११ तथा राप्तीका १८ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका १३, माडी नगरपालिकाका ७ तथा इच्छाकामना गाउँपालिकाका २ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।





