महासंघ चितवनको अध्यक्ष पदमा अधिकारी, कँडेल र रिमाल भिड्दै

भरतपुर, २३ चैत्र ।

नेपाल पत्रकार महासंघ चितवनले यही चैत्र २५ गते हुने जिल्ला शाखाको निर्वाचनमा उमेद्वारी मनोनयन दर्ता गरेका उमेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । उसले आइतबार प्रकाशन गरेको पहिलो नामावलीमाथिको दाबी विरोध सोमबार सकिएसँगै निर्वाचनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । सोमबार सह–सचिव (खुल्ला)तर्फ एक जना, मधेशी सदस्यतर्फ एक जना र सदस्य खुल्लातर्फ तीन जनाले उमेद्वारी फिर्ता लिएका थिए ।

महासंघ चितवनले सोमबार प्रकाशन गरेको नामावली अनुसार अब अध्यक्ष पदका लागि तिलकराम रिमाल, नारायण प्रसाद अधिकारी र सूर्यप्रकाश कँडेलबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, उपाध्यक्ष पदमा भने प्रकाशमणि ज्ञवाली, रामकान्त पौडेल र विनोदबाबु रिजालको उमेद्वारीलाई अन्तिम रूप दिइएको छ । महिला उपाध्यक्ष पदका लागि शान्ता अधिकारी र प्रमिता ढकालबीच प्रतिस्पर्धा हुनेछ भने सचिव पदमा अनिल ढकाल र दीपेन्द्र अधिकारी भिड्नेछन् । समावेशी सहसचिवमा उर्गेन तामाङ्ग र अमिर रामदान तथा खुल्ला सहसचिवमा आनन्द पोखरेल, टीकादत्त तिमिल्सिना र राजु सापकोटामध्ये एक जना मात्रै निर्वाचित हुनेछन् ।

त्यसैगरी, कोषाध्यक्ष पदका लागि भने गोविन्द घिमिरे, राजेश घिमिरे र राजेन्द्र आचार्यबीच टक्कर हुनेछ । त्यसका अलावा महिला सदस्यमा दुई, दलित सदस्यमा दुई, आदिवासी जनजाति सदस्यमा दुई र खुल्ला सदस्यमा १६ जना उमेद्वारको उमेद्वारीले अन्तिम रूप पाएको छ । मधेशी सदस्यमा सरिता महतो शाह र अन्य समावेशीमा भूपराज पाठक निर्विरोध निर्वाचित भएका छन् । महासंघ चितवनले केन्द्रीय परिषद् सदस्यका ६ जना, केन्द्रीय परिषद् सदस्य (समावेशी)का ५ जना, प्रदेश परिषद् सदस्य खुल्लाका १८ र प्रदेश परिषद् सदस्य समावेशी पदका १२ जना उमेद्वारहरूको अन्तिम नामावली पनि सार्वजनिक गरेको छ । यस पटक विभिन्न १७ ओटा पदका लागि ८३ जना अन्तिम उमेद्वारहरूको नाम सार्वजनिक गरिएको हो ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट