भरतपुर, २२ चैत्र ।
रत्ननगर नगरपालिकाकी भूमिका सिंखडा सकेसम्म मोबाइल वालेटबाटै आर्थिक कारोबार गर्न रुचाउँछिन् । मोबाइलमा बैंकिङ्ग एप तथा अनलाइन भुक्तानी सेवा प्रदायकको एप राखेपछि बाहिर निस्कँदा नगद बोक्नुपर्ने बाध्यता हटेको उनी सुनाउँछिन् । “इन्टरनेटको भरमा एपबाटै हरेक सेवाको शूल्क तथा महशुल तिर्न मिल्ने भएपछि गोजीमा पैसा बोकेर हिँडिरहन परेन”, उनले सुनाइन् । मोबाइल वा कम्प्युटरबाटै पानी, बिजुली, इन्टरनेट, फोनको ब्यालेन्स, आदि सेवाको महशुल बुझाउन मिल्ने भएपछि समयको पनि बचत भएको अनुभव उनले सुनाइन् । “अनलाइन भुक्तानीका सेवा प्रदायकको संख्या बिस्तारै बढिरहेको छ । त्यो राम्रो कुरा पनि हो”, उनले थपिन्, “बैंकले मोबाइल बैंकिङ्ग सुविधाको लागि दर्ता वा नवीकरण गर्दा भने केही बढी रकम काट्ने गरेको छ । त्यो भने कम गर्नुपर्छ ।”
यस्तै, भरतपुर महानगरपालिका वडा नं ४ की विद्या सापकोटा पनि मोबाइल वालेटमार्फत् नै कारोबार गर्छिन् । त्यसरी कारोबार गर्दा समयको बचत हुने तथा पैसा बोकिरहनुपर्ने बाध्यता पनि नहुने उनको भनाइ थियो । “पहिलेपहिले सामन किन्न जाँदा पैसा बोकेर जानुपथ्र्याे । कसैले पैसा लुटिदेला कि भन्ने डर पनि रहन्थ्यो । नगदरहित कारोबार गरिने भएपछि त्यस्ता जोखिम सबै हटेर गए”, उनले सम्झँदै सुनाइन् । यद्यपि अनलाइन पेमेन्टहरूको पनि आफ्नै तरिकाको समस्या हुने उनको ठम्याइ छ । “इन्टरनेटको माध्यमबाट बैंक तथा वालेटको खाता चलाउन मिल्ने भएकाले ह्याकरहरू अलि सक्रिय हुन सक्छन् । आफूले प्रयोग गर्ने खाताको पासवार्ड बलियो बनाउनुपर्छ”, उनी थप्छिन्, “जहाँ पायो त्यहाँको कम्युटरबाट लग इन गर्न हुँदैन । यी कुरामा चाहिँ अनलाइन भुक्तानी सेवाका प्रयोगकर्ताहरू सबैले विशेष ध्यान दिनुपर्छ ।”
चितवन मेडिकल कलेज शिक्षण अस्पतालसँगै रहेको भिन्तुना फार्मेसीका सञ्चालक सुनिल सिग्देल पनि मोबाइल वालेट र क्युआर कोड मार्फत् गरिने भुक्तानीले कारोबारलाई सहज बनाएको बताउँछन् । “पहिले पहिले ग्राहकहरूले नगद दिनुहुँदा औषधिको शूल्क काटेर फिर्ता बातपको रकम दिनुपर्ने हुन्थ्यो । कहिलेकाहीँ त ग्राहकहरूले फिर्ता लिनकै लागि लामो बेरसम्म कुर्न पथ्र्यो”, उनले अगाडि भने, “अब त स्मार्टफोनले क्युआर कोड स्क्यान गरेर उत्तिबेलै औषधिको मूल्य बराबरको मात्रै पैसा तिर्न मिल्छ ।” सोही फार्मेसीका अर्का सञ्चालक विजय श्रेष्ठले भने अनलाइन भुक्तानी प्रणालीलाई विकास गर्न मोबाइल फोनको नेटवर्क बलियो बनाउँदै लैजानुपर्ने सुझाव दिए । “वाइफाइको तुलनामा तपाईंले मोबाइल डेटाबाट वालेट चलाउँदा एकदमै ढिलो खुल्ने गर्छ । त्यसो हुँदा झन् झण्झट हुन्छ । सबैतिर थ्रीजी तथा फोरजी सेवा बिस्तार गर्न सके अनलाइन भुक्तानी प्रणाली झन् फस्टाउने थियो”, उनले भने ।
विद्या र भूमिका जस्ता युवा वर्गहरूमाझ पछिल्लो समय मोबाइल वालेट तथा अनलाइन भुक्तानी प्रणाली लोकप्रिय हुँदै गएको छ । कुनै समय बिजुली र पानीको बिल तिर्न जाँदा सेवाग्राहीहरूको पूरै एक दिन खर्च हुन्थ्यो । लामो लाइनमा उभिएर महशुल तिर्नु साँच्चै नै अत्यासलाग्दो कामअन्तर्गत पर्दथ्यो । तर अब प्रविधिको विकासले सोही कामलाई छिटो र छरितो बनाइदिएको छ । स्मार्टफोनको स्क्रिनमाथि औँला नचाएको भरमा तपाईंले खानेपानी, विद्युत र इन्टरनेटको महशुल मात्र होइन शैक्षिक संस्थाहरूको भर्ना तथा मासिक शुल्क, होटेलमा खाएको खानाबापतको शूल्कदेखि बस र हवाइजहाजको भाडासम्म तिर्न सक्नुहुन्छ ।
नेपाल राष्ट्र बैंकले नै क्यास लेस (नगदरहित) कारोबारलाई प्रवद्र्धन गर्ने नीति लिएका कारण पछिल्लो समय क्युआर कोड लिने व्यवसायीहरूको संख्या बढेको हो । “राष्ट्र बैंकले नगदरहित कारोबार गर्न भनेकाले पछिल्लो समय अनलाइन भुक्तानी प्रणालीमा आबद्ध हुनेको संख्या बढ्न गएको हो”, बैंक अफ काठमाण्डू लिमिटेड, नारायणघाटका शाखा प्रबन्धक धीरेन्द्र श्रेष्ठले भने । क्युआर कोड अर्थात् क्वीक रेस्पोन्स कोड लिनको लागि बैंकमा खाता हुनुपर्ने र सो सेवा लिन पाऊँ भनी निवेदन दिनुपर्ने उनले बताए । त्यसबापत कुनै पनि शुल्क नलाग्ने उनको भनाइ थियो । भरतपुरमा विशेषतः औषधि पसल, फर्निचर पसल, पुस्तक पसल, सपिङ मल, होटेल, जस्ता स्थानमा क्युआर कोडको बढी प्रयोग हुने गरेको छ । “अझै कोरोना भाइरसको महामारी र लकडाउनका कारण पनि अनलाइन प्रणाली फस्टाउन थालेको हो । अनलाइन किनमेल जस्ता प्रयोजनका लागि मोबाइल बैंकिङ्ग सेवा लिन खोज्नेको पनि संख्या बढेको छ ।” अचेल मोबाइल बैंकिङ एप प्रयोग गरेर बैंकको खातामा भएको रकमलाई अरु कुनै डिजिटल वालेट वा बैंकको खातामा पठाउन पनि मिल्ने गरेको छ ।
“पहिले इसेवा मात्रै एक्लो सेवा प्रदायक थियो । त्यसकारण सर्भर अवरुद्ध हुने, टप अप नहुने जस्ता गुनासा आइरहन्थे”, तीन वर्षदेखि भरतपुरको हाकिम चोकमा भरतपुर कुरियर तथा इसेवा क्यास प्वाइन्ट सञ्चालन गरिरहेका विरोधमणि सिग्देलले बताए । बजारमा थप नयाँ नयाँ सेवा प्रदायक आउँदा प्रतिस्पर्धा पनि हुने र सेवाग्राहीले पनि गुणस्तरीय सेवा पाउने उनको भनाइ थियो । “अब नेपाल टेलिकमले पनि आफ्नै पेमेन्ट प्रणाली ल्याउँदैछ । नेपालमा पनि अनलाइन भुक्तानी प्रणालीको विकासले बिस्तारै गति लिँदै गएको भान हुन थालेको छ”, उनले थपे । हाल नेपालमा इसेवा, खल्ती, इ–पे, आइएमी पे, लगायत गरी करिब एक दर्जन ओटा अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी रहेका छन् ।





