भरतपुर, ११ चैत्र ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्ष २०७७/७८ को आठौँ महिनासम्म आइपुग्दा २ करोड ४० लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले कूल २८ हजार ९ सय ८५ कारवाहीबाट सो परिमाणमा राजश्व संकलन गरेको हो । यो गत आर्थिक वर्ष २०७६/७७ भरि संकलन भएको कूल राजश्वभन्दा करिब ३.९ प्रतिशतले बढी हो । गत वर्ष कार्यालयले ३० हजार ८ सय ५९ वटा सवारीसाधनलाई कारवाही गर्दा राजश्वबापत २ करोड ३१ लाख ४ हजार रुपैयाँ संकलन गरेको थियो । चालू आर्थिक वर्षको सुरुवाती ८ महिनाको तथ्याङ्कलाई केलाउँदा हरेक महिनामा औसत ३० लाख १ हजार २ सय ५० रुपैयाँ राजश्व संकलन हुने गरेको छ । बाँकी ४ महिनामा पनि सोही औसतमा राजश्व संकलन हुने हो भने वर्षको अन्तिममा ३ करोड ६० लाखभन्दा बढी रुपैयाँ संकलन हुने देखिन्छ । यसअघि ट्राफिक प्रहरी कार्यालयले आ.व. २०७४/७५ मा ३ करोड ३६ लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।
कारोना भाइरस महामारी नियन्त्रणका लागि २०७६ चैत महिनाको ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गरिँदा कारवाहीमा पर्ने सवारीसाधनको संख्या न्यून रहेको थियो । देशव्यापी बन्दाबन्दी समाप्त भएपछि पनि स्थानीय सरकार तथा प्रशासनले विभिन्न चरणमा निषेधाज्ञा लागू गर्दा जिल्लामा सवारीसाधनको चाप घट्न पुगेको थियो । २०७७ को आश्विन महिनादेखि सबै खालका निषेधाज्ञा बिस्तारै हटाइएपछि राजश्व संकलन हुने दर फेरि उकालो लागेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार २०७७ श्रावणमा १ हजार २ सय ३१ वटा कारवाही भएका थिए । उक्त अवधिमा ९ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
२०७७ भाद्र महिनामा भने कारवाहीको संख्या र राजश्वको परिमाणमा केही कमी आएको छ । उक्त महिनामा ८ सय ६४ वटा सवारीसाधन कारवाहीमा परेका थिए भने ६ लाख ८४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो । भाद्रपछि भने कारवाहीमा पर्नेको संख्या र राजश्व रकम दुवै ठूलो अन्तरले बढेको देखिएको छ । कार्यालयका अनुसार आश्विनमा ३ हजार ६ सय ५, कार्तिकमा ४ हजार २ सय ५०, मंसिरमा ४ हजार ४ सय ५०, पौषमा ५ हजार ५ सय र माघ महिनामा ५ हजार ५ सय ५० वटा सवारीसाधन कारवाहीमा परेका थिए । प्रहरी निरीक्षक भट्टका अनुसार पछिल्लो ८ महिनामा सबैभन्दा धेरै राजश्व माघ महिनामा संकलन भएको छ । माघ महिनामा मात्रै ४७ लाख १२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको थियो । पछिल्लो ८ महिनामा संकलन भएको कूल राजश्वको करिब १९.६ प्रतिशत रकम माघ महिनामा मात्रै संकलन गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । यसअघि पौष महिनामा ४४ लाख ४४ हजार ५ सय तथा मंसिरमा ३६ लाख ६३ हजार ५ सय रुपैयाँ उठेको थियो ।
फाल्गुन महिनामा भने कारवाहीमा पर्ने सवारीसाधनको संख्या २ हजार १५ अंकले घटेको छ । सो अवधिमा ३ हजार ५ सय ३५ वटा कारवाहीबाट ३१ लाख ७१ हजार ५०० रुपैयाँ संकलन भएको थियो । ट्राफिक नियम उल्लंघन गर्ने चालकका लागि ट्राफिक प्रहरीले विशेष कक्षा समेत सञ्चालन गर्दै आएको छ । तैपनि ट्राफिक नियम उल्लंघन गर्दा निम्तिने जोखिमका बारेमा उनीहरू अझै पनि गम्भीर बन्न सकेका छैनन् । “अघिल्ला वर्षहरूको तुलनामा अहिले सवारी चाप एकदमै बढेको छ । सडकमा सवारीसाधनको संख्या बढेपछि नियम उल्लंघन गर्नेको संख्या पनि सोही अनुपातमा बढेको देखिन्छ”, प्रहरी निरीक्षक दयाकृष्ण भट्टले भने । अहिले ट्राफिक नियम मिचेर जरीवानामा परेका चालकका लागि कार्यालयले कक्षाको पनि व्यवस्था गरेको छ । करिब एक घण्टाको कक्षामा सहभागी भएर बाहिरिएपछि चालकहरूले कक्षामा पढेका कुरालाई व्यवहारमा समेत नउतारेको देखिएको छ ।
“कतिपय चालकहरू जरीवानामा परेपछि कक्षा त लिन्छन्, तर कक्षाबाट निस्किएपछि पनि उनीहरूले उही प्रकारको गल्ती दोहोर्याइरहेका हुन्छन्”, भट्टले अगाडि थपे, “प्रहरी प्रधान कार्यालयमा हुने जस्तै ट्राफिक भायोलेसन सफ्टवेयरको प्रयोग यहाँ पनि गर्नुपर्ने देखिएको छ । त्यसो हुँदा लाइसेन्स नम्बर इन्ट्री गर्ने बित्तिकै चालक केकस्तो कारवाहीमा परिसकेको छ, त्यो सबै हेर्न मिल्छ ।” खास गरी लाइसेन्स बिना सवारीसाधन चलाउने, मादकपदार्थ सेवन गरी सवारी हाँक्ने, सवारीसाधन मोडिफाइ गर्ने, तीव्र गतिमा सवारी चलाउने, जहाँ पायो त्यहीँ गाडी पार्किङ गर्ने, आदि जस्ता उल्लंघन बढी मात्रामा हुने गरेको प्रहरी निरीक्षक भट्टले सुनाए । “कानूनले नै सवारीसाधन सम्बन्धी आवश्यक कागतपत्र साथमा लिएर हिँड्न भनेको छ । सडकमा चोरी भएका गाडी पनि गुड्छन्, नवीकरण फेल भएका गाडी पनि गुड्छन् । तपाइँले चलाएको सवारी तपाइँकै हो भनेर पुष्टि गर्न त कागतपत्र चाहिने नै भयो नि”, भट्टले थप्दै भने, “सवारी दुर्घटनामा परेका खण्डमा पनि अनुसन्धान गर्न सजिलो हुन्छ । व्यक्तिको पहिचान गर्न पनि सहज हुन्छ नि ।”
यस्तै, प्रहरी निरीक्षक भट्टले फागुन महिनादेखि जरीवाना बैंकमार्फत बुझाउन सकिने प्रणालीको पनि सुरुवात गरिएको जानकारी दिए । “आफ्नो नजिक रहेका जुनै पनि ग्लोबल आइएमई बैंकको काउण्टरमा ट्राफिक भौचर भरेर जरीवानाबापतको शूल्क बुझाउन सकिन्छ । सडकमा बसेर सवारीचालकसँग जरीवाना उठाउने कामले शोभा नदिएको भन्ने गुनासो आएपछि बैंकिङ प्रणाली अपनाएका हौं”, भट्टले थपे, “त्यसो भएपछि कारोबार पनि पारदर्शी पनि हुने भयो । बैंकमार्फत जरीवाना बुझाउँदा उक्त रकम राजश्वमा पनि तत्कालै जम्मा हुन्छ ।”




