भरतपुर, १ चैत ।
मुद्रण संघ चितवनको १९औं वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनले उपकार सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शनिबार भरतपुरमा सम्पन्न अधिवेशनबाट संघको निर्विरोध निर्वाचित उपाध्यक्षमा सन्दीप सुवेदी, सचिवमा रविन मिश्र, कोषाध्यक्षमा उत्तम अर्याल, सहसचिवमा राजाराम त्रिपाठी, सहकोषाध्यक्षमा गौतमबाबु अर्याल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः प्रकाश फुँयाल, सरोज घिमिरे, पुरन थापामगर, परशुराम कँडेल र सुजन अर्याल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले छपाईमा भएको मूल्यसूचीलाई एकरुपता ल्याउने, संगठनलाई जिल्लाव्यापी बनाउने तथा सदस्य बिस्तार मुख्य एजेण्डा भएको बताए । व्यवसाय क्षेत्रमा भएको अस्वस्थ्य प्रतिस्पर्धा, बढ्दो मूल्यवृद्धि, उत्पादित वस्तुको मूल्य घट्दो, एकआपसको खिचातानीले गर्दा व्यवसाय धरासायी बन्दै गएको धारणा उनले राखे । उनले भने- `आगामी दिनमा एउटा निश्चित मूल्यसूची तयार गरी त्यसैलाई आधार मानी सबैलाई पालना गराउने उद्देश्य रहेको छ ।´
चितवन जिल्लामा छरिएर रहेका व्यवसायीहरुलाई एकीकृत गर्ने र सबैलाई संघमा आवद्ध गराउने उनले बताए । क्षेत्रगत ढंगबाट सबै व्यवसायीलाई एकै ढिक्का बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा संघका सचिव सन्दीप सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष खुशीराम घिमिरेबाट आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।




