काठमाडौँ, २० फागुन ।
विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । बैठकको लागि प्रचण्ड-नेपाल समेतलाई निम्तो दिइएको छ ।
शनिबार दिउँसो सिंहदबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा अर्को प्रचण्ड–माधव पक्षलाई समेत बोलाइएको छ ।
ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत गरि सग्लो नेकपाका सबै सांसदलाई बैठकमा बोलाइएको बताए ।
संघीय संसदमा सग्लो नेकपाका १७४ सांसद छन् ।
पार्टी अझै नफुटेको भन्दै सबैलाई बैठकमा आमन्त्रित गरिएको भट्टराईले जानकारी दिए ।
ओली पक्षले पार्टी नफुटेको बताइरहे पनि प्रचण्ड–माधव पक्षले भने संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई कारबाही गरेको घोषणा गरेको छ ।
आजै प्रचण्ड–माधव पक्षले उनीहरुलाई कारबाही गरिएको पत्र संघीय संसद सचिवालयमा बुझाएको छ ।





